arin enterprises

उपराष्ट्रपति पदको मतदान सुरु, आजै परिणाम आउने

SamacharDesk | २०७९ चैत्र ३, शुक्रबार

उपराष्ट्रपति पदको निर्वाचनका लागि मतदान सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा उपराष्ट्रपति चयनका लागि अहिले १० बजेदेखि मतदान सुरु भएको हो । 

मतदान सङ्घ र प्रदेशसभा सदस्यका लागि बेग्ला–बेग्लै मतदान केन्द्र कायम गरिएको छ । उपराष्ट्रपति पदको निर्वाचनका लागि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य, सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा गरी चार उम्मेदवार छन् । 

जसपाकी प्रमिला कुमारीले आफ्नो उम्मेदवारी निष्कृय भएको घोाषणा गरेकी छन् । तर उम्मेदवारी फिर्ता लिने समयभन्दा पछि मात्रै उम्मेदवारी निष्कृय भएको भनेकाले मतपत्रमा उनकोसमेत नाम छ ।

निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभातर्फ पाँच सय ५० मतदाता कायम छ । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचन, २०७९ का लागि दुई प्रकारको मतपत्रको व्यवस्था गरेको छ ।

संघीय संसद्का सदस्यले मतदान गर्ने प्रयोजनका लागि रातो मसी र प्रदेशसभा सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो मसीले मतपत्र छपाइ गरिएको छ ।

मतपत्रमा उम्मेदवारको तस्विर र नाम समावेश गरिएको छ । मतपत्रमा रहेका कुनै एक उम्मेदवारको तस्विर र नाम अंकित रहेको कोठामा स्वस्तिक छाप लगाई मत दिनुपर्नेछ ।

मतदान दिउँसो ३ बजेसम्म सञ्चालन हुने र मतदान सकिनासाथ मतगणना सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । 

मुलुक संघीय लोकतान्त्रिक शासन व्यवस्थामा प्रवेश गरेपछि पहिलो उपराष्ट्रपतिमा परमानन्द झा निर्वाचित भएका थिए । दोस्रो निर्वाचनबाट उपराष्ट्रपतिमा नन्दबहादुर पुन निर्वाचित भएका थिए । आज हुने चुनावबाट मुलुकले तेस्रो उपपराष्ट्रपतिको रुपमा प्राप्त गर्नेछ ।

Categorized in राजनीति