arin enterprises

ताथलीबाट ढुङ्गा बाहिर लग्न दिँदैनौँ : नगर प्रमुख

SamacharDesk – आभास धरानन्द राजोपाध्याय | २०७८ पौष २२, बिहिबार

भक्तपुरको ताथलीबाट ढुङ्गा बाहिर लग्न नदिने चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले जनाएका छन् । आज ताथलीस्थित हलल गाउँ, नालाछापमा नयाँ चट्टान अभिलेख पाइएपछि नगर प्रमुख मिश्रले यस्तो कदम उठाउने जनाएका हुन् ।

“ताथलीमा पहिले भेटिएका चट्टान अभिलेखलाई बार लगाएर, घामपानीबाट बचाउन ट्रस राखेर हामीले संरक्षणका केही काम गरेका छौँ,” नगर प्रमुख मिश्रले समाचारडेस्कलाई आज बताए, “ऐतिहासिक महत्त्वका सम्पदा संरक्षणका लागि हामी सक्दो प्रयास गर्नेछौँ ।”

सो क्षेत्रमा एक दशकअघि थुप्रै चट्टान अभिलेख भेटिएको थियो भने आज पुनः नयाँ चट्टान अभिलेख भेटिएको हो । उक्त अभिलेख भने हाल पढ्न नसकिने भएको छ, तर त्यसमा अभिलेख कुँदेको दाग भेटिएको इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठले जनाएका छन् ।

सो स्थानमा जगर्ज्योति मल्ल, जितामित्र मल्ल र भूपतिन्द्र मल्लसम्मका चट्टान अभिलेख रहेका छन् ।

अभिलेख संरक्षण चुनौतीपूर्ण : इतिहासविद्

आज चट्टान अभिलेख पाएपछि इतिहासविद् डा. पुरुषोत्तमलोचन श्रेष्ठले यस क्षेत्रको संरक्षण अब सबैको चासोको विषय भएको जनाएका छन् ।

“विश्वमै र अझ नेपालका लागि यस्ता चट्टान अभिलेख दुर्लभ सम्पदा हुन्,” डा. श्रेष्ठले भने, “तर अहिले त्यहाँबाट चट्टान व्यावसायिक कामका लागि लगिने हुँदा यस्ता महत्त्वपूर्ण अभिलेखको संरक्षण भने चुनौतीपूर्ण नै छ ।”

यो पनि पढ्नुहोला : भक्तपुरको ताथलीमा भेटियो नयाँ चट्टान अभिलेख

Categorized in संस्कृति
SKIP THIS tihar2082