विश्वविजेता वेस्ट इन्डिज पहिलोपटक विश्वकपमा छनोट हुन असफल
SamacharDesk – आकाश राजोपाध्याय | २०८० आषाढ १७, आइतबार

विश्वकप विजेता वेस्ट इन्डिज आगामी अक्टोबर देखि नोभेम्बरसम्म भारतमा हुने १३ औं संस्करणको एकदिवसीय विश्वकपमा छनोट हुन असफल भएको छ ।
जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोटको सुपर सिक्समा स्कटल्यान्डसँग ७ विकेटले पराजित भएपछि विश्वकपमा प्रतियोगिताबाट वेस्ट इन्डिज बाहिरिएको हो ।
विश्वकप छनोटअन्तर्गत सुपरसिक्सको फाइनलमा पुग्ने दुई टिम विश्वकपमा पुग्ने प्रावधान छ । शनिबार पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज १८१ रनमै अलआउट भयो । १८२ रनको लक्ष्य स्कटल्यान्डले ३ विकेटको क्षतिमा पूरा गरेको थियो ।
योसँगै एकदिवसीय तथा टी–ट्वान्टी विश्वकपको समान दुई पटक विजेता वेस्टइन्डिज क्रिकेट इतिहासमा पहिलो पटक कुनै पनि फर्म्याटको विश्वकपमा नदेखिने भएको छ ।
सुपर सिक्समा वेस्टइन्डिजले अब श्रीलंका र ओमानसँग खेल्न बाँकी छ । यी दुई टोलीलाई हराउँदा ४ अंक हुन्छ । तर सुपर सिक्समा दुई खेल खेल्न बाँकी रहेका श्रीलंका र जिम्बावेको समान ६–६ अंक हुँदा वेस्टइन्डिज बाहिरिएको हो ।
सन् १९७५ र १९७९ को सुरुआती दुई संस्करणमा वेस्टइन्डिज विश्वकप च्याम्पियन बनेको थियो । यस्तै सन् १९८३ को संस्करणमा उपविजेता बनेको थियो ।
त्यसपछि भने वेस्ट इडिजले विश्वकपको फाइनल खेल्न सकेको थिएन ।
सन् १९७५ देखी सुरु भएको एकदिवसीय विश्वकपमा वेस्टइन्डिज २०१९ सम्मको १२ औं संस्करणसम्म सामेल रहदै आएको वेस्ट इन्डिज १३ औं संस्करणका लागि भने छनोट प्रक्रियाबाटै बाहिरिएको हो ।
२००७ देखी सुरु भएको टी–ट्वान्टी विश्वकपमा वेस्ट इन्डिजले सबै संस्करण खेल्दै आएको छ । वेस्ट इन्डिजले २०१२ र २०१६ मा टी–ट्वान्टी विश्वकपको उपाधी समेत जितेको थियो ।
त्यस्तै यू–१९ विश्वकपमा पनि वेस्ट इन्डिजले सबै संस्करण खेल्दै आएको छ ।
Categorized in स्पाेर्ट्स