arin enterprises

निशुल्क प्याड उपलब्ध गराउने निर्णय कार्यान्वयन नभएको पूर्वमन्त्रीको गुनासो

SamacharDesk – बिराज | २०७८ जेठ १३, बिहिबार

पूर्व वातावरण मन्त्री गणेश शाहले विद्यालयमा छात्राहरुको लागि निःशुल्क स्यानिटरी प्याड वितरण गर्ने निर्णय भएको दुई वर्ष पुग्न लाग्दा सम्म पनि कार्यान्वयन नभएको गुनासो गर्नुभएको छ ।

विश्व महिनावारी स्वच्छता दिवस २०२१ को अवसरमा आयोजित अनलाईन परामर्श कार्यक्रममा बोल्दै पूर्वमन्त्री शाहले यस्तो भनेका हुन् ।

‘देशभरका विद्यालयमा सरकारले निशुल्क प्याड दिने घोषणा गरेको दुई वर्ष हुन लाग्दा पनि अझैसम्म बजेट उपलब्ध नहुँदा विद्यालयमा अध्ययनरत छात्राहरु महिनावारीको समयमा स्कूल नआउने गरेको देखिन्छ’ शाहले भन्नुभयो ।

महिनावारीबारे अझै व्यापकरुपमा बैज्ञानिक तरिकाले बुझाउनका लागि सबै सक्रिय र कृयाशिल भई लाग्नुपर्ने विचार उहाँले राख्नुभयो ।

MHM Alliance का संयोजक गुणराज श्रेष्ठले मानव जीवनको प्रतिष्ठा र मर्यादाको विषय मानेर महिनावारीलाई मासिक चक्रसँग जोडेर मे २८ मा विश्वभरी यो दिवस मनाइँदै आएको जानकारी दिनुभयो ।

‘महिनावारी भनेको प्राकृतिक प्रकृया हो जुन पुरुषहरुमा पाइन्न, यसलाई विशेष क्षमताको दृष्टिकोणबाट हेरिनुपर्छ, महिनवारीलाई मर्यादित महिनावारी घोषणा गर्नुपर्छ’ शाक्यको भनाई हो ।

हर्टबिटकी नर्स प्रिति श्रेष्ठले महिनावारी भनेको महिलाको पाठेघरमा निर्मित अण्डा प्रयोग नभई फुटेको अवस्थामा निस्कने सामान्य रगत भएको र यो बेलामा आईरन तथा भिटामीन सि युक्त खानेकुरा खानुपर्ने जानकारी दिनुभयो ।

रोट्र्याक क्लब अफ पाट वेस्टका अध्यक्ष उर्जा नेवाःले महिनावारीमा बजारमा सजिलै पाइने Menstrual Cup को प्रयोग स्यानेटरी प्याड भन्दा सस्तो हुने र यसलाई पुनः प्रयोग गर्न सकिने हुँदा वातावरण मैत्री भएको सुझाव दिनुभयो ।

विश्व महिनावारी स्वच्छता दिवस २०२१ को पुर्व सन्ध्यामा बुधबार महिनावारी स्वच्छता र प्रजनन स्वास्थ्य सम्बन्धि अनलाईन परामर्श कार्यक्रम गरिएको हो ।

नेपाल महिला समाज, संयुक्त सफाई जागरण बचत तथा ऋण सहकारी संस्था लि. ईको सिष्ट, हर्टविट, नेपाल रेडक्रस युथ सर्कल त्रिचन्द्र क्यापस, एरोसान र रोट्रयाक्ट क्लब पाटन वेस्टको सहकार्यमा गैर सरकारी संस्था गुथिले अनलाईन परामर्श कार्यक्रमको आयोजना गरेको हो ।

Categorized in समाज