आज विश्व संगीत दिवस
SamacharDesk – Ram Dangol | २०८० आषाढ ६, बुधबार

आज विश्व संगीत दिवस । बिश्व संगीत दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइँदै छ ।
फ्रान्सको पेरिसबाट ‘फेट डे ला म्युजिक’ नामले प्रारम्भ भएको यो महोत्सवलाई हरेक वर्ष जुन महिनाको २१ तारिखका दिन विश्वका हरेक कुनामा विश्व संगीत दिवसको रूपमा मनाउने गरिएको छ ।
अहिले विश्वका एक सय बढी देशमा संगीत दिवस विशेष उत्सवका रुपमा मनाइन्छ । नेपालमा भने २००४ सालदेखि संगीत दिवस मनाउन थालिएको हो ।
त्यसयता संगीत सिक्दै गरेका र व्यावसायिक संगीतकारलाई एकै ठाउँमा ल्याउन र संगीतलाई जनमानसमा फैलाउने उद्देश्यले विश्वका १ सय १० भन्दा बढी देशमा संगीत दिवसको औपचारीक कार्यक्रम हुँदै आएको छ ।
नेपालको सन्दर्भमा त्यो समय विदेशी संगीतकारले विश्व संगीत दिवसको अवसर पारेर नेपाली राग बनाएका थिए । त्यसयता प्रत्येक बर्ष आजकै दिन विभिन्न कार्यक्रम हुँदै आएका छन् ।
नेपाली मौलिक संगीतसँगै पछिल्लो क्रममा विश्वमा विकास हुँदै आएका संगीतका बारेमा अध्ययन, अनुसन्धान र सिर्जनाका लागि जोड दिनु पर्ने यस क्षेत्रमा लागेकाले बताउछन ।
विशेष गरी संगीत तथा कला क्षेत्रमा क्रियाशील साधक एवं गायक–गायिका, रचनाकार, संगीतकार तथा संगीतप्रेमीहरूको सहभागितामा यो दिवस मनाउने गरिन्छ । संगीतलाई विश्वव्यापी भाषाको रुपमा पनि मानिन्छ ।
बहुजाति, भाषा, धर्म अनि संस्कृति भएको नेपालमा मादल, सारंगदेखि धिमेसम्म, ढोलकदेखि टुङ्गनासम्म अनि बाँसुरीदेखि बिनायोसम्म मौलिकता थप्ने बाजाहरू छन् ।
संगीत दिवसको अवसरमा नेपाल सांगीतिक संघले काठमाण्डौमा हरेक वर्ष विशेष कार्यक्रम गर्दै आएको छ ।
Categorized in राष्ट्रिय