arin enterprises

अन्तर्राष्ट्रिय मानव बेचबिखन तथा ओसारपसार विरुद्धको दिवस मनाईंदै

SamacharDesk | २०८० श्रावण १४, आइतबार

आज अन्तर्राष्ट्रिय मानव बेचबिखन तथा ओसारपसार विरुद्धको दिवस ।

यस वर्ष ‘बेचबिखनका प्रत्येक पीडितसम्म पुगौँ, कसैलाई न्यायबाट बञ्चित नगरौँ’ भन्ने नारासहित नेपाल लगाएत विश्भर विभिन्न कार्यक्रम गरी आज मनाइँदैछ ।

सन् २०१३ मा राष्ट्र संघको सम्मेलनले हरेक वर्ष ३० जुलाईमा अन्तर्राष्ट्रिय मानव बेचबिखन तथा ओसारपसार विरुद्धको दिवस मनाउने घोषणा गरेको थियो ।

त्यस यता हरेक वर्ष मानव बेचबिखन तथा ओसारपसार विरुद्ध जनचेतना बढाउने तथा पिडितको अधिकार संरक्षण गर्ने उद्धेश्यका साथ यो दिवस मनाउने गरिन्छ । यो दिवस मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुढृढ गर्न महत्त्वपूर्ण छ ।

यो वर्षको नाराले बेचबिखन पीडितले भोग्ने शोषणको अन्त्य र उद्धारपछिको  पुनःस्थापनाको सुनिश्चितता र बेचबिखनको जोखिममा रहेका समूहको संरक्षणको सन्देश दिएको छ ।

सामान्यतया प्रलोभनमा पारी, झुक्याई, डरत्रास देखाई कुनै पनि व्यक्तिलाई उसको इच्छाविपरीत कुनै न कुनैरूपमा शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले जबर्जस्ती कुनै पनि कार्य गर्न बाध्य तुल्याइने अवस्थालाई नै मानव बेचबिखन भन्ने गरिन्छ ।

यौन व्यवसाय, मानव अंग बेचबिखन, जोखिमपूर्ण श्रम, लागूपदार्थ ओसारपसार तथा विभिन्नखाले श्रमका लागि विश्वभर मानव बेचविखन बढ्दो छ । नेपालमा सयौं युवा म्यानमार, लाओस, तथा कम्बोडियास्थित चिनिया समुहको अपाराधिक शिबिरमा साइबरदासका रुपमा बन्धक बन्न थालेका छन् ।

पछिल्लो पाँच बर्षमा मानव बेचबिखन तथा ओसारप्रसारसम्बन्धी ८ सय बढी मुद्दा प्रहरीमा दर्ता भएका छन् । यद्यपी ४० प्रतिशत अभियुक्त पनि पक्राउ परेका छैनन् । मानवको बेचबिखन तथा ओसारपसार बालश्रम, बाल दासत्व, धर्मपुत्र धर्मपुत्री, बालविवाह, बधुवा श्रम तथा दासत्व, मानव अङ्ग प्रत्यारोपण, यौन दासत्व, व्यावसायिक यौन शोषण, गैरकानुनी आप्रवासन आदि कार्यका लागि भइरहेको देखिन्छ ।

संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वव्यापी सङ्कट, द्वन्द्व र जलवायु आपतकालले मानव बेचबिखनको जोखिम बढिरहेको छ । विस्थापन र सामाजिक आर्थिक असमानताले असर परेका लाखौँ मानिस मानव बेचबिखनका तस्करको चपेटामा परेका छन् ।

यस्तै गरिबी, बेरोजगारी, शिक्षा र स्वास्थ्यमा पहुँच नभएका, भेदभाव, हिंसा, दुव्र्यवहारमा परेका व्यक्ति एवं सीमान्तकृत समुदाय मानव तस्करको नजरमा पर्ने गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घअन्तर्गतको लागुऔषध र अपराधसम्बन्धी कार्यालयका अनुसार विकासशील राष्ट्रहरूमा मानव बेचबिखन घट्दै गएको छ ।  सन् २०२० मा मानवबेचबिखन पत्ता लगाउने दर ११ प्रतिशतले घटेको र मावबेचविखनविरुद्ध सजायको दर २७ प्रतिशतले घटेको थियो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको राष्ट्रिय प्रतिवेदन, २०७६ अनुसार  पछिल्लो समय महिला र बालबालिकाको एसिया, अरब, अफ्रिका, युरोप र अमेरिकाका अन्य विभिन्न मुलुकमा समेत बेचबिखन तथा ओसारपसार हुन थालेको छ ।

मानव बेचबिखनको आयाम फराकिलो बन्दै गएकाले यसको नियन्त्रण चुनौतीको विषय बन्दै गएको छ । मानव बेचबिखन नियन्त्रणका लागि समयसाक्षेप कानुनको संशोधन र निर्माण गर्न आवश्यक भएको यस क्षेत्रमा काम गर्दै आएका साझेदार संस्थाहरूको भनाइ छ ।

Categorized in राष्ट्रिय