भारतमा यास चक्रवातका कारण दुईजनाको मृत्यु
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ १२, बुधबार

भारतमा यास चक्रवातका कारण भएको भारी वर्षा र हावाहुरीले पश्चिम बंगालमा दुईजनाको मृत्यु भएको छ ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतको ओडिसा र पश्चिम बंगालको तटीय क्षेत्रमा यसको असर धेरै देखिएको छ । बंगालको खाडी र उडिसामा भएको भारी वर्षाका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ ।
पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले चक्रावातपछिको भारी वर्षा र हावाहुरीका कारण ४० वटा घर र ओत लाग्न बनाइएको अस्थायी शिविरहरुमा क्षति पुगेको बताएकी छन् ।
यस्तै ओडिसाका मुख्यमन्त्री नवीन पटनाइकेले सर्वसाधारणलाई नआत्तिन आग्रह गर्दै तटीय क्षेत्रबाट टाढा सुरक्षित स्थानमा बस्न आग्रह गरेका छन् ।
यास चक्रवात भारतको पश्चिम बंगाल, उडिसा लगायत ८ राज्यमा प्रवेश गर्ने अनुमानलाई मध्यनजर गर्दै सम्भावित ८ राज्यका असुरक्षित १० लाख जनतालाई सुरक्षित स्थानतर्फ सारिएको छ भने अझै ७ लाखलाई सार्ने क्रम जारी छ ।
भारत सरकारले यी दुई राज्यमा देखिनसक्ने संकटलाई ध्यानमा राख्दै यसअघि नै ठूलो संख्यामा सेना परिचालन गरेको थियो ।
भारतले अहिले कोरोना भाइरस महामारीको दोस्रो लहरको सामना गरिरहेको छ । यसको रोकथामको लागि आपतकालीन शिविरमा मास्क वितरण तथा भौतिक दूरी कायम गराउन कठिन हुने र यसले कोरोना संक्रमण फैलन सक्ने भन्दै विशेषज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।
प्रतिघण्टा १५५ देखि १६५ किलोमिटरको रफतारमा आउने अनुमान गरिएको चक्रवातबाट क्षति न्यूनिकरणका लागि कोलकता विमानस्थलबाट हुने विमान सेवा आज दिनभरका लागि बन्द गरिएको छ ।
गत साता भारतमा ताउ ते चक्रवातको असर पश्चिमी राज्यहरुमा देखिएको थियो । उक्त चक्रवातपछि भएको भारी वर्षा र हावाहुरीको कारण कम्तीमा १५५ जनाको मृत्यु भएको थियो ।
Categorized in अन्तर्राष्ट्रिय