arin enterprises

युट्युबको प्रिमियम लाइट प्लान बन्द हुने

SamacharDesk – आकाश राजोपाध्याय | २०८० आश्विन ९, मंगलबार

युट्युबको प्रिमियम लाइट प्लान बन्द हुने भएको छ । युरोपेली देशमा मात्र उपलब्ध विज्ञापन रहित भिडिओ हेर्नका लागि कम शुल्क तिरेर लिन सकिने यस्तो सब्सक्रिप्सन सेवा २५ अक्टोबरदेखि बन्द हुनलागेको हो ।

युट्युबले सो सब्सक्रिप्सन लिने प्रयोगकर्तालाई ईमेल पठाउँदै प्रिमियम लाइट सेवा बन्द गर्न लागेको द भर्जले जनाएको छ ।

मासिक ६.९९ युरो सेवाको शुल्क तोकिएको प्रिमियम लाइट यो सेवा लिँदा प्रयोगकर्ताले कुनै पनि भिडियो हेर्दा विज्ञापन देखिँदैन ।

यसमा युट्युबको अर्को प्रिमियम फिचरजस्तो यो लाइट सेवामा अफलाइन डाउनलोड, ब्याकग्राउन्ड प्ले जस्ता सेवाहरु भने छैनन् ।

अब भने प्रिमियम लाइट सेवा लिने प्रयोगकर्ताका लागि दुई विकल्प हुनेछन् । एउटा, कि विज्ञापन सहितका भिडियो हेर्नुपर्ने कि त युट्युबको प्रिमियम सब्सक्रिप्सन नै लिनुपर्ने हुन्छ ।

जसका लागि कि प्रयोगकर्ता आफैंले लाइट कि त सब्सक्रिप्सन बन्द गर्नुपर्‍यो, कि कम्पनीले बन्द गर्छ ।

कम्पनीले पठाएको ईमेलमा युट्युबले प्रिमियम लाइट सेवा लिने प्रयोगकर्तालाई एक महिनाको फ्रि ट्रायल उपलब्ध गराउने उल्लेख गरेको छ ।

पछिल्लो समय युट्युबले नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै युट्युबमा प्रिमियम सब्सक्रिप्सन लिन प्रेरित गरेको छ ।

नेपाली भाषामै बज्ने युट्युबको विज्ञापन राखेर कम्पनीले आफ्नो प्रिमियम सेवाको प्रचार गरिरहेको छ ।

नेपालबाट यो प्रिमियम शुल्क लिन प्रति महिना ३.४९ डलर लाग्ने युट्युबको भनाइ छ ।

यो सेवा लिएपछि प्रयोगकर्ताले विज्ञापन रहित भिडियो हेर्नुका साथै ब्याकग्राउन्डमा भिडियो बजाउन, भिडिओ डाउनलोड गर्न तथा युट्युबको म्युजिक प्रिमियम सेवा समेत पाउन सकिने कम्पनीले जनाएको छ । 

Categorized in विज्ञान-प्रविधी