अन्ततः आज दशअतार बन्द नै भयो
SamacharDesk – कल्चर ब्युरो | २०७५ आश्विन ७, आइतबार

निरन्तरताकै आशंकाबीच प्रदर्शन थालिएको ईन्द्रजात्राको दशअवतार आइतबार तेश्रो दिनमा आएर रोकिएको छ । तेश्रो दिनसम्म पनि सम्बन्धित पक्षबाट आवश्यक बजेट उपलब्ध नहुँदा वाध्यताले नै वन्द गर्नुपरेको दशअवतार कलाकारहरुले बताएका छन् ।
दुइ दिन आफैंले खर्च गरी दशअवतार प्रदर्शन गरेको र आज दशअवतारको निरन्तरताका लागी रकम नै नहुँदा वाध्यताले बन्द गर्नुपरेको दशअवतार कलाकार नवीन शाहीले बताउनुभयो । ‘सहमति अनुसार कार्यान्वयन पनि होला भन्ने आशाले दुइ दिन त हामीले आफैंले खर्च गरेर प्रदर्शनीलाई निरन्तरता दियौं तर, आज बजेट उपलब्ध नहुँदा खर्च गर्न रकमको अभावले वाध्यताले दशअवतार प्रदर्शनलाई बन्द गर्नुपर्यो’ शाहिको भनाई थियो ।
उचित व्यवस्थापन र आवश्यक बजेट उपलब्ध नभएको अवस्थामा यसपालि दशअवतार प्रदर्शन निरन्तर हुने अवस्था नरहेको दशअवतारका कलाकारहरुले बताउँदै आएका थिए । यसैबीच गएको विहिबार दशअवतार गुठि र कलाकारहरुबीच सहमति भई प्रदर्शनी निरन्तर भएको थियो । तर रकमकै अभावमा तेश्रो दिनमा आएर दशअवतार प्रदर्शन अवरुद्ध भएको छ ।
‘हालको समस्या भनेको आर्थिक होइन, यो ठुलो विषय होइन । मुख्य समस्या उचित व्यवस्थापन हो, दशअवतार प्रदर्शनीलाई व्यक्तिगत नभई संस्थागत बनाइनुपर्यो । संस्थागत भएमा विद्यमान समस्या समाधानमा संस्था आफै जुट्छ’ कलाकार राजेन्द्र श्रेष्ठले भन्नुभयो ।
भोलि सोमबार ईन्द्रजात्राको मुख्य दिन परेको छ । भोलिबाट कुमारीको साथमा भैरव र गणेशको रथयात्रा पनि शुरु हुनेछ र यस जात्रालाई राष्ट्रप्रमुखले पनि अवलोकन गर्नेछन् ।
ईन्द्रजात्राको मुख्य दिनमा दशअवतार प्रदर्शन होला कि नहोला भन्ने प्रश्नमा कलाकार श्रेष्ठले यस विषयमा आफुहरुले पनि यकिनसाथ भन्न नसकिने बताउनुहुन्छ । ‘दशअवतार प्रदर्शनीमा कलाकार र प्राविधिक सबै गरेर करीब ५० जना मान्छेहरु खट्नुपर्छ । खाजा खर्च नै दैनिक ५ हजार भन्दा बढि छ । कलाकारहरुको पारिश्रमिक, यातायात आदि इत्यादि खर्चहरु छन् । हामीले आफैंले खर्च गरेर मात्र पनि सम्भव नै छैन’ श्रेष्ठको भनाई थियो ।
विगत १५ सय वर्ष अगाडिबाट ईन्द्रजात्रामा दशअवतार प्रदर्शन गरिँदै आएको दावी दशअवतार प्रदर्शन तथा प्रवद्र्धन समाजको दावी छ । संयोजन, व्यवस्थापन र बजेटको अभावमा हाल आएर ऐतिहासिक दशअवतार प्रदर्शनीको अस्तित्व संकटमा परेको छ ।
Categorized in संस्कृति