अस्ट्रेलियाबाट फर्केर दिपक सेल्फ क्वारेन्टाइनमा
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७६ चैत्र ६, बिहिबार

अस्ट्रेलियाबाट बुधबार फर्केका पप गायक दिपक बज्राचार्य सेल्फ क्वारेन्टाइनमा बस्न गएका छन् । कार्यक्रमका लागि अस्ट्रेलिया पुगेका दिपकको साथै उनको रिदम ब्यान्डका सदस्यहरु अहिले सेल्फ क्वारेन्टाइनमा बस्न थालेका हुन् ।
स्वास्थ्यमा केही समस्या नदेखिएको र आफुहरु स्वस्थ रहेको विषयमा ढुक्कै भएपनि सतर्कताको लागि आफुहरु क्वारेन्टाइनमा बसेको गायक बज्राचार्यले बताए ।
बुधबार अपरान्ह १२ः३० बजे नेपाल पुगेका दिपक र रिदम ब्यान्डका सदस्यहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै क्वारेन्टाइन होमतर्फ लागेका थिए ।
क्वारेन्टाइन होम पुग्ने वित्तिकै दिपकले फेसबुकमार्फत लाइभ गर्दै आफुहरु सेल्फ क्वारेन्टाइनमा बसेको जानकारी दिएका थिए ।
अहिलेको अवस्थालाई ध्यानमा राख्दै आफै सचेत भएर सावधानी अपनाउनुपर्ने भन्दै दिपकले सबै नेपालीलाई सतर्क र सजग हुँदै बस्न आग्रह गरे ।
दिपकसँगै उनको रिदम व्यान्डका ५ जना सदस्यहरु अहिले क्वारेन्टाइनमा बसिरहेका छन् । उनको साथमा रिदम ब्यान्डका सदस्यहरु रिकि शाक्य, विकि शाक्य, रोजन कायस्थ, लिजेन्द्र महर्जन (झाँक्री), र राजीप बज्राचार्य (लाखे) क्वारेन्टाइनमा बसिरहेका हुन् ।
ब्यान्डका सबै ६ जना नै आवश्यक सावधानी अपनाउँदै बसिरहेको रिदम ब्यान्डका लाखेय् राजीप बज्राचार्यले बताए । आफै पकाएर खाने, सरसरफाइका आवश्यक उपायहरु पछ्याउँदै बसेको उनले बताए ।
आफुहरु अस्ट्रेलिया जाँदा पनि ह्यान्ड स्यानिटाइजर, अलकोहल टिस्यू आदि सबै बोकेर नै गएको र विमानमा पनि आफुहरु बस्ने सीट अलकोहल टिस्युले सफा गर्ने आदि सफाईतर्फ ध्यान दिँदै बसेको बज्राचार्यले बताए ।
अस्ट्रेलियाको साथै न्यूजिल्यान्डमा समेत साँगितिक प्रस्तुति दिनका लागि दिपक र रिदम ब्यान्ड अस्ट्रेलिया पुगेका थिए । अस्ट्रेलियामा उनले ३ वटा साँगितिक प्रस्तुति दिन भ्याए ।
उताको अवस्था विग्रिँदै गएपछि आयोजकले बाँकि कार्यक्रम स्थगित गरेको थियो । त्यसपछि दिपक र रिदम ब्यान्ड नेपाल फर्केको हो ।
नेपालको विमानस्थल देखेर निराश
सेल्फ क्वारेन्टाइनमा गइसकेपछि फेसबुकमार्फत लाइभमा आएका दिपकले नेपालको विमानस्थल देखेर भने आफु निराश भएको बताएका छन्
अस्ट्रेलियादेखि आफुहरु निकै सतर्क र सुरक्षित रहँदै आएको उनले बताए । कसैसँग सम्पर्कमा आउने वित्तिकै स्यानिटाइजरले हात सफा गरिहाल्ने लगायतका सुरक्षाका उपाय अपनाउँदै आएको उनले जानकारी गराए ।
दिपकको साथमा फेसबुक लाइभमा आएका राजीप बज्राचार्यले बाहिरका विमानस्थलहरुमा सुरक्षाका उपायहरु अपनाइएको, सतर्क रहेको आफुले देखेको उनले बताए ।
तर नेपालको विमानस्थलमा भने विभिन्न ठाउँबाट आएका सबैलाई एउटै गाडीमा राखिएको गायक बज्राचार्यले बताए । हिँडेर पुग्न सकिने दुरीमै पनि मलेसिया, यूरोपियन मूलक लगायतबाट आएका सबैजनालाई एउटै गाडीमा खाँदिएर बसाउँदा आफु नेपालको अवस्था देखेर केही निराश भएको उनको भनाई थियो ।
नेपाल सरकार आफैले २५ जना भन्दा बढि जम्मा नहुन भनेको समयमा विमानस्थलमा अपनाउन सकिने सुरक्षाका साधारण उपायसम्म पनि नअपनाएको देख्दा दुःख लागेको उनको भनाई थियो ।
विदेशबाट नेपाल पुगेको कतिपय नेपालीले आफुहरु सिधै घर फर्किने भनेको सुन्दा पनि आफु अचम्म भएको दिपकले बताए ।
आफु स्वस्थ नै भएपनि समाजलाई पनि ढुक्क बनाइराख्न पनि आफुहरु १४ दिन छुट्टै बसिदिनु राम्रो हुने उनको भनाई थियो ।
समाजमा त्रास नहोस्, शंकाको वातावरण नहोस् भन्नेतर्फ पनि सोच्नुपर्ने दिपकले सुझाव दिए ।
Categorized in पेजथ्री