arin enterprises

काठमाडौंमा दोश्रो हरर फिल्म फेस्ट सुरु

SamacharDesk – विजयरत्न | २०८३ कार्तिक १४, शुक्रबार

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा काठमाडौं हरर फिल्म फेस्टको दोस्रो संस्करण शुक्रवारबाट सुरु भएको छ ।

काठमाडौंको रसियन हाउसमा आज एक कार्यक्रमका बीच फेस्टको उद्घाटन गरिएको थियो ।

चलचित्र विकास बोर्डका अध्यक्ष मनिष पण्डित, जापानी दूतावासका उपनियोग प्रमुख यासुहारु सिन्तो, रसियन हाउस काठमाडौंकी निर्देशक अनास्तासिया खोख्लोभाको उपस्थितीमा फेस्टको उद्घाटन गरिएको थियो ।

समारोहमा पाकिस्तानी दूतावासका प्रथम सचिव (प्रेस तथा संस्कृति) वकास अहमद तथा नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकको पनि उपस्थिति रहेको थियो ।

समारोहमा बोल्दै पण्डितले नेपालमा विधागत फिल्मको प्रवद्र्धन र यसको भावी विकासमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै रसियन हाउस काठमाडौंकी निर्देशक खोख्लोभाले नेपाल र रुसबीचको सांस्कृतिक आदानप्रदान सुदृढ बनाउन नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठान तथा रसियन हाउसबीचको सहकार्यलाई अझ गहिरो बनाउने प्रतिवद्धता जनाइनु ।

महोत्सव निर्देशक रशिक पाठकले यस वर्षदेखि सुरु गरिएको दर्शक सहभागिताको नयाँ पहलबारे जानकारी गराए । यस अन्तर्गत दर्शकले मतपेटिकामार्फत प्रत्यक्ष मत खसालेर दर्शक रोजाइ विजेता छनोटमा सहभागी हुन सक्नेछन् ।

उद्घाटन समारोहपछि लेबनानी निर्देशक नादिम ताबेतबाट निर्देशित ‘इन दिस डार्कनेस आई सी यू’को प्रदर्शनसँगै महोत्सवका स्क्रिनिङ सुरु गरिएको थियो ।

महोत्सव आउँदो कात्तिक १५ गते (नोभेम्बर १) सम्म चल्नेछ । महोत्सवमा आगामी दुई दिन नेपाल तथा विश्वका विभिन्न देशका हरर तथा विधागत चलचित्रहरू प्रदर्शन हुनेछ ।

अन्तर्राष्ट्रिय फिल्म प्रदर्शन, दर्शक सहभागिता र सांस्कृतिक आदानप्रदानमार्फत नेपालमा विधागत चलचित्रको उपस्थिति सुदृढ बनाउँदै फिल्मकर्मी तथा फिल्मप्रेमीहरूका लागि नयाँ अवसर सिर्जना गर्ने महोत्सवको उद्देश्य रहेको आयोजकले जनाएको छ ।

Categorized in पेजथ्री