arin enterprises

आगमघर संरक्षण हुननसक्दा कार्तिक नाचसमेत प्रभावित हुनसक्ने

SamacharDesk – कल्चर ब्युरो | २०७५ आश्विन २६, शुक्रबार

ललितपुरको कृष्ण मन्दिर र पूर्णचण्डि मन्दिरका पूजारी साथै कार्तिक नाचका गुरु र नृसिंह खलक राजोपाध्यायहरुको महाःद्यःननि आगमघरको अस्तित्व संकटमा परेको छ । महाःद्यःननि आगमघर गुठीका गुठीयार राजोपाध्यायहरुले आज ललितपुरमा पत्रकार सम्मेलन गर्दै ऐतिहासिक साँस्कृतिक महत्वका आगमघरहरुको संरक्षणमा राज्यको स्पष्ट नीति नहुँदा अस्तित्व संकटमा परेको बताएका हुन् ।

जीर्ण अवस्थामा रहेको महाद्यःननि आगमघरको बाहिर नै गरिएको पत्रकार सम्मेलनमा बोल्दै आगमघर गुठीका गुठियार रविन्द्रधर शर्माले आगमघरको संरक्षण हुननसक्दा योसँग सम्बन्धित साँस्कृतिक गतिविधि समेत प्रभावित हुनलागेको बताउनुभयो । अहिले आगमघरको जिर्णोद्धार तत्काल गरिहाल्नुपर्ने अवस्था रहेको तर जीर्णोद्धारको लागी प्रक्रियागत समस्याहरु हुँदा समस्या भएको शर्माको भनाई थियो । पूर्णचण्डि मन्दिर र कृष्ण मन्दिरको नित्य पूजाको साथमा कार्तिक नाचको नृसिंह अवतारको समेत तान्त्रिक पूजा अहिले प्रभावित भइरहेको शर्माले बताउनुभयो । यस किसिमका आगमघरको स्वामित्व राज्यले गुठीलाई पनि नदिने र राज्य आफैंले पनि संरक्षण नगर्ने अवस्थामा समस्या भएको बताइएको हो । 

‘यहि आगमघरमा कृष्णमन्दिर, पूर्णचण्डी मन्दिरसँग सम्बन्धित तान्त्रिक पूजाहरु पनि हुन्छ । कार्तिक नाचको नृसिंह अवतारसँग सम्बन्धित पूजा पनि गर्नुपर्छ’ गुठीका अर्का गुठीयार प्रतापधर शर्माले बताउनुभयो, ‘यो आगमघर बचाउन सकिएन भने कार्तिक नाचको नृसिंह अवतार बन्द हुने अवस्था समेत आउनसक्छ । आवश्यक पूजाविधि गर्नलाई आगमघर नै भएन भने कसरी नृसिंह अवतार प्रदर्शन गर्ने ?’ प्रतापधरको प्रश्न थियो । कार्तिक नाचका लागी नृसिंहको मुकुण्डो निर्माण गर्न यहि आगमघरमा तान्त्रिक विधिबाट पूजा सम्पन्न गर्ने गरिन्छ । साथमा बलि पूजा पनि यहिँ सम्पन्न हुने गर्दछ । कृष्णमन्दिर साथै पूर्णचण्डिको नित्य पूजाका लागी आवश्यक पर्ने फुल पनि यहि आगमघरको बारीबाट टिपेर लग्ने गरिन्छ ।

गुठीबाट आगमघरको संरक्षणकै लागी भनेर लालपूर्जा बनाउन खोज्दा ३५ दिने सार्वजनिक सूचना समेत प्रकाशित भएको तर लालपूर्जा भने नबनेको पत्रकार सम्मेलनमा बताईयो । पत्रकारहरुको प्रश्नको उत्तर दिँदै शर्माले लालपूर्जाको प्रक्रियाबारे बुझ्न खोज्दा मालपोत कार्यालयबाट जानकारी दिन नमिल्ने भन्दै कुनै जानकारी पनि नपाईएको भन्नुभयो । 

वर्तमान समयमा संधियारले आगमघरको जग्गालाई सार्वजनिक चोक भनी उल्लेख गरेर आफ्नो घरको नक्सा पास गर्दा पनि आफुहरुलाई कुनै जानकारी पनि नआएको आगमघरका गुठीयारहरुले बताए । संधियारले अनियमित तरीकाले आगमघरको जग्गातिर झ्याल, ढोका राख्नुको साथै टप समेत निकाल्दा पनि स्थानीइ निकायले वास्ता नगरेको गुठीयारहरुले बताए । यस सम्बन्धमा १९ वडा कार्यालयलाई जानकारी गराउँदा सार्वजनिक चोक भएकोले जानकारी दिनुनपर्ने भन्दै अनियमित निर्माण रोक्नेतर्फ कुनै चासो नदेखाएको गुनासो गुठीयारहरुको थियो । ललितपुर महानगरपालिकामा उजुरी नै हाल्दा पनि लालपूर्जा नभएको भन्दै उजुरी खारेज गरिदिएको गुठीयारहरुको भनाई थियो ।

यस्तो अवस्थामा आगमघरको जग्गा नै सार्वजनिक चोकमा परिणत हुन सक्ने अवस्था श्रृजना भएको भन्दै अव केही उपाय नलागेर आफुहरु न्यायालयको शरणमा जान लागेको गुठीयारहरुले बताए, ‘राज्यमा न्याय बाँकि छ भन्ने विश्वास हामीलाई छ । अदालतले निसाफ गर्नेछ र आगमघरको अस्तित्व बचाउनेछ भन्ने आशासहित रिट दायर गर्न हामीले तयारी थालिसक्यौं ।’ आगमघर गुठीयार रविन्द्रधरले भन्नुभयो ।

महाःद्यःननि आगंछेँ ललितपुर महानगरपालिका १९ वडा वला टोलमा अवस्थित छ । यस आगमघरको गुठीमा कार्तिक नाचका गुरु खलक साथै नृसिंह अवतारको भूमिका निर्वाह गर्ने र कृष्ण मन्दिरको नित्य पूजा गर्ने पूजारी महाःद्यःननि चोकका राजोपाध्यायसाथै ललितपुर गाःबहालस्थित पूर्णचण्डि मन्दिरका पूजारी र पूर्णचण्डि मन्दिर नजिकै रहेको स्थान कुंछेँका राजोपाध्यायहरुको साझा आगमघर हो । केही वर्ष अगाडीबाट जीर्ण अवस्थामा रहेको आगमघर अहिले ७२ सालको भूकम्पपछि जम्मा दुइ तल्लामात्र  बाँकि छ । आगमघरको बाँकि भाग पनि निकै जीर्ण अवस्थामा रहेको छ ।

Categorized in संस्कृति