arin enterprises

आज राष्ट्रप्रमूखलाई दशअवतार देखाइएन

SamacharDesk – कल्चर ब्युरो | २०७५ आश्विन ९, मंगलबार

ईन्द्रजात्राको चौथो र महत्वपूर्ण दिन, सोमबार राष्ट्रप्रमुखको उपस्थितीमा दशअवतार प्रदर्शन हुन सकेन । कुमारी, भैरव र गणेशको रथयात्रा प्रारम्भ हुने चतुर्दशीको दिनमा राष्ट्रप्रमुखको उपस्थितीमा दशअवतार प्रदर्शन गरिनुपर्नेमा आज त्यसो हुन नसकेको हो ।

आज दशअवतार अन्तर्गत ३ वटा अवतार प्रदर्शन गरियो । तर आज भने राष्ट्रप्रमुख उपस्थित भएको समयमा नभई बेलुकीमात्र प्रदर्शन भयो । अन्य दिनमा बेलुकीको समयमा प्रदर्शन गरिने दशअवतार चतुर्दशीका दिनमा राष्ट्रप्रमुखको उपस्थितीमा दिउँसो नै प्रदर्शन गरिने गरिन्थ्यो ।

यसो हुनुको कारणबारे सोध्दा दशअवतारका कलाकार साथै दशअवतार प्रदर्शन तथा प्रवद्र्धन समाजका पर्यवेक्षक नवीन शाहिले समयमा आर्थिक व्यवस्थापन हुन नसक्दा यस्तो भएको बताउनुभयो ।

‘हिजो तेश्रो दिन त आवश्यक रकम उपलब्ध नहुँदा दशअवतार प्रदर्शन अवरुद्ध नै हुनपुग्यो । आज पनि समयमा रकम उपलब्ध नभएको कारण नै समयमा हुन नसकेको हो’ शाहीले बताउनुभयो । ‘आज पनि पुरा रकम त उपलब्ध भएको थिएन । तैपनि धेरथोर रकम हामीले पनि आफैंले खर्च गरेर संस्कृतिलाई निरन्तरता दिएका हौं ।’

आवश्यक व्यवस्थापनको कमीमा यसपाली दशअवतार प्रदर्शनमा समस्या हुँदै आएको छ । शुरुमा कलाकारहरुले प्रदर्शन निरन्तर नै हुन नसक्ने बताउँदै आएकोमा पहिलो र दोश्रो दिन निरन्तर भयो भने तेश्रो दिन अवरुद्ध भयो । आज चौथो दिन भने समयमा प्रदर्शन हुनसकेन ।

‘एकदिनमा ५० जनाको संख्यामा कलाकार, प्राविधिक खट्नुपर्छ । हामी नियमित कलाकार बाहेक विद्यालयबाट विद्यार्थीहरु पनि ल्याउनुपर्छ । दिनको १० हजारभन्दा बढि खर्च आवश्यक छ’ समाजका अर्का पर्यवेक्षक शिव मानन्धरले अवस्थाबारे जानकारी दिनुभयो । ‘हामीले आफैंले खर्च गरेर पनि प्रदर्शन गरेका छौं । पोहोरको खाजाको उधारो आजसम्म पनि बाँकि छ । पहिलो र दोश्रो दिन पनि आर्थिक व्यवस्थापन हामी आफैंले गरेको हो ।’

अचेल दशअवतार प्रदर्शन व्यक्तिगत तवरबाट भइरहेको भन्दै दशअवतार कलाकारहरुले यसलाई संस्थागत बनाइनुपर्ने माग गर्दै आएका छन् । र यस सम्बन्धमा दशअवतारका कलाकार र दशअवतार गुठीका व्यवस्थापक दिपकप्रसाद श्रेष्ठबीच सहमति पनि भइसकेको छ ।

Categorized in संस्कृति