आदिवासी मैत्री नीतिको माग सहित चलचित्र महोत्सव
SamacharDesk – समाचारडेस्क | २०७५ आषाढ १०, आइतबार

यहि असार १५ गतेबाट काठमाडौंमा तिनदिने आदिवासी जनजाति चलचित्र महोत्सव हुने भएको छ । आदिवासी जनजाति चलचित्र महासंघले यहि असार १५, १६ र १७ गतेका दिन प्रदर्शनीमार्गस्थित नेपाल पर्यटन बोर्डको हलमा दोश्रो आदिवासी जनजाति चलचित्र महोत्सवको आयोजना गर्न लागेको हो ।
महासंघले आज पत्रकार सम्मेलनको आयोजना गरी चलचित्र महोत्स्वको आयोजना सम्बन्धमा जानकारी गराएको हो । दोश्रो आदिवासी जनजाति चलचित्र महोत्सवलाई निरन्तरता दिँदै यस वर्ष विभिन्न जातीय समुदाय सम्वद्ध १४ वटा चलचित्र प्रदर्शन गर्न लागेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष अमृत सुनुवारले चलचित्र क्षेत्रमा राज्यको आदिवासी जनजाति मैत्री निती बनाउनुपर्ने माग बुलन्द गर्दै महोत्सवको आयोजना गर्न लागिएको बताउनुभयो । ‘राज्यले आदिवासी जनजाति मैत्री वातावरण तयार गरोस् भन्ने हाम्रो चाहना हो र यस महोत्सवमार्फत चलचित्रको माध्यमबाट हामी राज्यलाई आदिवासी जनजाति चलचित्रकर्मीको वास्तविक अवस्था र मर्काको बारेमा जानकारी गराउन खोजिरहेका छौं’ सुनुवारले बताउनुभयो ।
गत २०४४ सालमा नेपालभाषाको चलचित्र ‘सिलु’ शुरु हुँदा चलचित्रसम्बन्धी जस्तो नीति थियो, त्यसमा हालसम्म पनि खासै केहि परीवर्तन नभएको सुनुवारको भनाई थियो । जनजाती चलचित्रले पनि दर्तादेखि सेन्सरसम्म समेत अन्य ठुला चलचित्र सरह नै दस्तुर तिरेर प्रक्रियामा भने जानुपर्ने तर पछि गएर प्रदर्शन गर्न हल नपाइने परिस्थितीका कारण यस क्षेत्रको समुचित विकास हुन नसकिरहेको अध्यक्ष सुनुवारले बताउनुभयो ।
त्यसैगरी महासंघका महासचिव पुर्खाजीत राईले राज्यको चलचित्र सम्बन्धि नीति आदिवासी जनजाति मैत्री नहुँदा आदिवासी जनजाति चलचित्रकर्मीहरुले चलचित्रमा आफ्नो मौलिक संस्कृति देखाउन सकिने वातावरण नभएको बताउनुभयो । साथै महासचिव राईले हिन्दु मानसिकताले जरो गाडेको सेन्सर बोर्डले कैयन चलचित्रमा देखाइएका आदिवासी जनजाति संस्कृतिमा सेन्सरले कैंची चलाउने गरेको भन्दै गुनासो पोख्नुभयो । ‘हामी चलचित्रकर्मी हतियार उठाउन जान्दैनौ र हाम्रो आन्दोलनको तरीका भनेको चलचित्र निर्माण गर्ने र यस्तै महोत्सवहरुको आयोजना गर्नु नै हो । आदिवासी जनजाति मैत्री नीतिको माग सहित पनि हामीले यो महोत्सवको आयोजना गर्न लागेका हौं’ महोत्सवको उद्देश्यबारे महासचिव राईले प्रष्ट पार्नुभयो ।
महोत्सवको उद्घाटन सत्रमा विभिन्न आदिवासी जनजातिको संस्कृति झल्किने सांस्कृतिक प्रस्तुति प्रस्तुत गरीनुका साथै जनजाती समुदायको परीकारहरुको स्टल पनि राखिने महासंघले जनाएको छ ।
महोत्सवमा प्रदर्शित एक चलचित्रलाई दर्शकहरुबाट प्राप्त भोटको आधारमा परु. २५,०००/– नगद, ट्रफि र प्रमाण पत्र सहितको पब्लिक च्वाइस अवार्ड प्रदान गरीने जानकारी पनि पत्रकार सम्मेलनमा दिइएको थियो । साथै महोत्सवमा प्रदर्शन हुने सबै चलचित्रलाई प्रोत्साहन स्वरुप रु.५,०००/– नगद प्रदान गरीने पनि महासंघले जनाएको छ ।
महोत्सवमा मैरिमो (गुरुङ), लदी पुजा (माझी), टिन्छेन फमा (शेर्पा), दुलारी (राजबंशी), ढ्वाङकुम (राई), गो सु नङा (सुनुवार), टुटल जिन्गी (थारु), पा (गुरुङ), मन्दरा (थारु) र रैयाँ (मगर) भाषाका चलचित्र देखाइँदैछ । त्यस्तै, मायासे लासी–३ (तमाङ), कमल पोखरी (नेवार), तापलय् (नेवार), र तमसुक (मगर) भाषाका चलचित्र पनि महोत्सवमा स्क्रिनिङ गरिँदैछ ।
Categorized in पेजथ्री