नइ एकेडेमी अस्ट्रेलियाबाट डा. मानन्धरसहित १४ जना पुरस्कृत
SamacharDesk – विजयरत्न | २०८३ मङ्सिर १, सोमबार
नइ एकेडेमीको विदेश विभाग नइ एकेडेमी अस्ट्रेलियाले सन् २०२६ का लागि विभिन्न १४ विधामा ‘नइ उत्कृष्ट पुरस्कार’ प्रदान गरेको छ ।
अस्ट्रेलियामा नेपाली समुदायको उत्थान, नेपाली भाषा, कला तथा संस्कृतिको संरक्षण र सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्याएको भन्दै विभिन्न व्यक्ति तथा संस्थालाई ‘नइ पुरस्कार’ बाट पुरस्कृत गरेको हो ।
पुरस्कार अन्तर्गत बहुसांस्कृतिक नेतृत्व तथा सामुदायिक विकास विधामा डा.कृष्ण हमाल सम्मानित भएका छन् । मानसिक स्वास्थ्य तथा आत्महत्या रोकथाम सचेतना विधामा भरत नेपाललाई पुरस्कृत गरिएको छ ।
त्यसैगरी नेपाली तथा अस्ट्रेलियियन समुदायको विकासमा उल्लेखनीय योगदान पुर्याएबापत सञ्जीवकुमार शर्मालाई ‘नइ उत्कृष्ट पुरस्कार’बाट पुरस्कृत गरिएको छ ।
नेपाली साहित्यमा उत्कृष्ट लेखनका लागि प्रकाश पन्थीलाई ‘नइ पारिजात पुरस्कार’ प्रदान गरिएको छ । त्यस्तै, सञ्चार तथा मिडियामार्फत सामुदायिक सम्बन्ध सुदृढ बनाउन योगदान पुर्याएको भन्दै डा.भरत पौडेललाई सम्मान गरिएको छ ।
‘मानवसेवा अस्ट्रेलिया’लाई उल्लेखनीय योगदान पुर्याएबापत एक हजार डलर राशिको ‘नइ मानवसेवा पुरस्कार’ प्रदान गरिएको छ ।
अस्ट्रेलिया इन्कर्पोरेटेड र पत्रकारिता तथा सांस्कृतिक सम्पदा संरक्षणमा योगदानका लागि आचार्य राजन शर्मालाई नइ पुरस्कार प्रदान गरिएको छ ।
संस्थागततर्फ नेपाली एसोसिएसन अफ वेस्टर्न अस्ट्रेलिया इन्क उत्कृष्ट सामुदायिक संस्थाका रूपमा सम्मानित भएको छ ।
पश्चिमी अस्ट्रेलियामा नेपाली भाषा, कला र संस्कृतिको संरक्षण तथा नेपाली समुदायको सशक्तीकरणमा संस्थाले पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको नई प्रकाशन अष्ट्रेलियाले जनाएको छ ।
त्यसैगरी, बहुभाषिक पत्रकारिता तथा सांस्कृतिक सम्पदा संरक्षण विधामा डा.राजु मानन्धर, सामुदायिक सेवा तथा विकास विधामा प्रकाश पौडेल र महिला सशक्तीकरण तथा नेतृत्व विधामा उषाकिरण बरिया पोखरेल पुरस्कृत भएका छन् ।
सङ्गीततर्फ नेपाली सांगीतिक सम्पदाको प्रवद्र्धनमा योगदान पुर्याएको भन्दै निशा केसीलाई सम्मान गरिएको छ । ‘द भ्वाइस अफ नेपाल’ मार्फत चर्चामा आएका, गायक तथा सङ्गीतकर्मी ‘तिखतार’लाई पनि पुरस्कृत गरिएको छ ।
नेपाली समुदायको विकास र उन्नतिमा उत्कृष्ट योगदानका निम्ति राजकुमार भण्डारीलाई ‘नइ पुरस्कार’ प्रदान गरिएको नइ एकेडेमी, अस्ट्रेलिया संस्थापक तथा अध्यक्षसीमा रोशी कार्कीले जानकारी दिए ।
Categorized in पेजथ्री





