arin enterprises

ललितपुर महानगरको गान बन्दै ‘जय यल देय्’

SamacharDesk – सुरज | २०८३ मङ्सिर १, सोमबार

ललितपुर/ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिको आयोजनामा कलाकार मुना (भेला)– सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल सम्वत ११४७ न्हूदँ (नयाँ वर्ष) को अवसरमा आयोजित कार्यक्रममा वक्ताहरुले १६ वडा कलाकार समितिबाट निर्माण भएको ‘जय यल देय्’ गानलाई ललितपुर महानगरको महानगर गानको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै निर्देशक साथै समीक्षक प्रकाश सायमिले ‘जय यल देय्’ गानलाई ललितपुर महानगरले आफ्नो गानका रुपमा आत्मसात् गर्नुपर्ने प्रस्ताव राखेका छन् ।

लमपाकी उप–प्रमुख मञ्जली शाक्य बज्राचार्यले पनि विभिन्न स्थानमा ललितपुर गानकै रुपमा यस गीतको प्रस्तुतिकरण समेत भइसकेको जनाउँदै ललितपुर महानगरको गानका रुपमा स्थापित गर्न आफूले पहल गर्ने बताइन् ।

साथै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो मातृभूमि प्रति समर्पित यस गानले उत्साहको संचार गरेको उल्लेख गर्दै ललितपुर महानगरको गानका रुपमा चाँडै उद्घोष हुने अपेक्षा व्यक्त गरे ।

लमपा १६ वडाका अध्यक्ष निर्मलरत्न शाक्यले कलाकारहरुको प्रगतिका लागि स्थानीय तहबाट पर्याप्त कार्य सम्पादन हुन नसकेको भन्दै १६ वडाले कलाकारहरुको साथ सहयोगमा कुनै कसर नराखी काम गरेको दावी गरे ।

कलाकार समितिका संयोजक सुरजवीर बज्राचार्यले ऐतिहासिक प्राचीन नाचहरुको संरक्षणमा सक्रिय हुनुका साथै सोही स्तरको अन्य श्रृजना आजको पुस्ताबाट श्रृजना गर्ने वातावरण निर्माणमा स्थानीय तह, सरकारको भूमिकाको खोजी भइरहेको उल्लेख गरे ।

‘जय यल देय्’ गानका गायक, गायिका, कलाकार, वाद्यवादक, प्राविधिक लगायतलाइ सम्मान पत्र वितरण गरिएको कार्यक्रम पश्चात लोकप्रिय कलाकारहरुबाट गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।

ललितपुरको प्राचीन नाम तथा हालसम्म स्थानीय सम्बोधनको प्रचलित नाम ‘यल’ हो ।

यस महानगरको भाषा, कला, धर्म, संस्कृति, परम्परा, सीप, सम्पदा लगायत विषय समेटेर ललितपुरको गानका रुपमा ‘जय यल देय्’ निर्माण गरिएको हो ।

गीतको रचनाकार साथै निर्माता लमपा १६ वडाका अध्यक्ष शाक्य हुन् भने संगीत मनराजा नकर्मीले दिएका छन् । विश्वास बज्राचार्यको निर्देशन, अमर चित्रकारको छायाँकन, कलर एवं सम्पादनमा गीतको म्यूजिक भिडियो निर्माण भएको छ ।

यस गीतमा २६५ गायक गायिकाहरुको आवाज दिएका छन् भने म्यूजिक भिडियोमा ६८ कलाकारहरुले अभिनय गरेका छन् ।

Categorized in पेजथ्री