arin enterprises

दुधको मूल्य प्रतिलिटर ७५ रुपैयाँ कायम गर्न माग

SamacharDesk – बिराज | २०८३ मङ्सिर १, सोमबार

चितवन/चितवनका दुग्ध किसानहरूले दूधको उचित मूल्य कायम गर्न सरकारसँग माग गरेका छन् ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले आज पत्रकार सम्मेलन गर्दै यस्तो माग गरेका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष किशोर बगालेले किसानले उत्पादन गरेको कच्चा दूधको न्यूनतम मूल्य प्रतिलिटर ७५ रुपैयाँ कायम गर्न सरकारसँग माग गरे ।

अध्यक्ष बगालेले पछिल्लो समय पशु आहारा, खाद्यान्न, स्वास्थ्य, शिक्षा तथा अन्य दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिका कारण किसानको उत्पादन लागत बढ्दै गएको बताए ।

‘वर्तमान समयमा दुग्ध किसानले घाटा व्यहोर्नुपर्ने अवस्था बनेको छ । दूध उत्पादनमा प्रतिलिटर करिब ५५ देखि ६० रुपैयाँसम्म लागत परिरहेको छ । किसानले उत्पादन लागत अनुसार उचित मूल्य पाउनुपर्ने हाम्रो माग छ’ बगालेको भनाई हो ।

किसानको माग सात दिनभित्र सम्बोधन नभए सडकमा उत्रिने चेतावनीसमेत दिइएको छ । किसानको मागको बेवास्ता गरे सडकमा ल्याएर दूध पोख्ने, गोबर फाल्ने लगायत चक्काजामसम्मको आन्दोलनको कार्यक्रम ल्याउने चेतावनी संघले दिएको छ ।

संघका अनुसार चितवनमा दैनिक ३ लाख ५५ हजार लिटर दूध उत्पादन हुँदै आएको छ । उत्पादित दूधमध्ये करिब ५५ प्रतिशत दूध काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की र मकवानपुरलगायतका जिल्लामा आपूर्ति हुने गरेको संघले जनाएको छ ।

संघले दिएको जानकारी अनुसार दुग्ध क्षेत्रमा हाल ९९६ वटा सहकारी संस्था र करिब ८० हजार किसानको सहभागिता छ । 

Categorized in बिजनेस