arin enterprises

उपत्यकाका ५० स्थानमा स्पर्शरहित हात धुने स्टेशन जडान गरिने

SamacharDesk – विकाश | २०७७ बैशाख १३, शनिबार

हाल कोभिड–१९ बाट बच्ने सवैभन्दा प्रभावकारी उपाय भनेको सावुनले कम्तिमा २० सेकेण्ड सम्म मिचि मिचि हात धुनु रहेको छ । तर कोभिड–१९ भाइरस विभिन्न सतहमा ३ दिन  सम्म बाँच्न सक्ने भएकाले धाराको नल जस्ता सतह संक्रमित भई भाइरस सर्न सक्ने सम्भाव्यतालाई न्यूनिकरण गर्न विभिन्न स्थानमा स्पर्श रहित हात धुने स्टेशनको स्थापना गरिएको छ ।

कीर्तिपुर नगरपालिकाका विभिन्न ७ स्थानमा जडान गरिने स्पर्श रहित हात धुने स्टेशनको शुक्रबार कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले सुरुवात गर्नु भयो । 

कीर्तिपुर नगरपालिका क्षेत्रमा वाटर एड नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा गुथि नामक गैर सरकारी संस्थाबाट उक्त हात धुने स्टेशन स्थापना हुन लागेको हो ।

कीर्तिपुर प्रवेशद्वार, कीतिपुर नगरपालिकाको कार्यालय भवन अगाडि र फोहोरमैला प्रशोधन केन्द्र, नयाँ बजार अगाडि स्पर्श रहित हात धुने स्टेशन स्थापना गरिएको हो । 

यस बाहेक कीर्तिपुर पाँगा दोबाटो, नगाउँ दोबाटो र ढोकाशी टोलस्थित खाना वितरण गर्ने स्थानमा पनि स्पर्श रहित हात धुने स्टेशन स्थापना गरिन लागेको छ ।

यी हात धुने स्टेशन कीर्तिपुर नगरपालिकाको सहकार्यमा फोहोरमैला व्यवस्थापनमा काम गर्ने मजदुर कर्मचारी, सुरक्षाकर्मी र निःशुल्क खाना खुवाउने स्थानलाई लक्षित गरेर छनौट गरिएको गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यले बताउनुभयो । 

सो अवसरमा बोल्दै कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले भने कोभिड–१९ को संक्रमणको रोकथामको लागि सावुन पानीले हात धुनु नै उत्तम उपाय भएको बताए । 

‘अहिलेको अवस्थामा साबुन पानीले हात धुने नै सबैभन्दा राम्रो उपाय हो । यस क्रममा धारा नछोई हात धुने प्रविधि एक सर्हायिन कदम रहेको छ । यसले विभिन्न संक्रमित सतहबाट फैलिनसक्ने सक्रमणको सम्भावनाको न्यूनीकरण गर्छ’ कीर्तिपुर नगरपालिकाका प्रमुख महर्जनले भन्नुभयो ।

उपमेयर सरस्वती खड्काले भनिन् ‘कीर्तिपुरको ७ स्थानमा नमुनाको रुपमा स्पर्शरहित हात धुने स्टेशन जडान गर्न पाउँदा यसले व्यवहार परिवर्तन र जनचेतना अभिवृद्धिमा समेत टेवा पुर्याउँछ । यस कार्यक्रमलाई अझ व्यापक बनाउने नगरपालिकाको योजना छ ।’

यस संयन्त्रलाई खुट्टाले प्याडल दबाएपछि धाराबाट पानी झर्ने र छोडेपछि बन्द हुन्छ । 

यस स्टेशनमा ३ महिनासम्म यही स्टेसनहरुमा दिनहु पानी भर्ने र झोल साबुनको व्यवस्था गर्ने जिम्मा निजी सेवा प्रदायकबाट गुथिले गर्नेछ । 

प्रविधिको संरक्षण र सुरक्षाको जिम्मा नगरपालिका, सम्बन्धित वडा कार्यालय र समुदायले लिने सर्त सहित एक सम्झौतामा नगरपालिका, गुथि र वाटर एड नेपाल विच हस्ताक्षर पनि सम्पन्न भएको छ । 

सो भन्दा अघि उपत्यकाका चार वटै नगरपालिकामा ५० वटा स्पर्श रहित हात धुने स्टेशन राख्ने कार्यको विहिबार कामपा मेयरको साथमा उपत्यका नगरपालिका फोरमका संयोजक विद्या सुन्दर शाक्यले का.म.पा. वडा नं. १५ भुँइखेलबाट सुरुवात गर्नुभएको थियो ।

काठमाडौं, ललितपुर, कीर्तिपुर र मध्यपुर ठिमी नगरपालिकाहरुसँगको सहकार्य र वाटर एड नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा गुथि नामक गैर सरकारी संस्थाले उपत्यकाका विभिन्न स्थानमा ५० वटा स्पर्श रहित हात धुने स्टेशनको स्थापना गर्न लागेको हो ।

Categorized in स्थानीय