arin enterprises

एक घर एक रक्तदाता अभियान अन्तर्गत १५ वडामा रक्तदान

SamacharDesk – विगेन तुलाधर | २०७६ चैत्र २२, शनिबार

कोरोना भाईरस (कोभिड १९)का कारण लकडाउनको अवस्थामा रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाईटी महाबौद्ध उपशाखा र काठमाण्डू जिल्ला शाखाले संयुक्त रूपमा ‘एक घर एक रक्तदाता’ अभियान शुरू गरेको छ । 

यसै अभियान अन्तर्गत नेपाल रेडक्रस सोसाईटी महाबौद्ध उपशाखाको संयोजन र चागल निवासी राकेश कर्माचार्यको अगुवाईमा भक्तपुर रक्त संचार केन्द्र (ब्लड बैंक) मार्फत स्वयम्भु क्षेत्रतिर रगत संकलन गरिएको छ । 

घरदैलो रक्तदान कार्यक्रम अन्तर्गत कामपा १५ वडाको चागल, लखतिर्थ र धुम्बाखेलका १३ जना स्थानीयले रक्तदान गरेका थिए  ।

‘लकडाउनको समयमा रगतको अभाव भएको फेशबुकमार्फत जानकारी पाएकोले चागल, लखतिर्थ र धुम्बाखेलको साथीहरुलाई रक्तदानको लागि अपिल गरेर यो  कार्यक्रम सम्पन्न गरेका छौं’ रामेश्वरले बताए,  ‘घरघरमा आएर रगतको संकलन गरिने जानकारी प्राप्त भएपछि आफ्नै घरमा रेडक्रस सोसाइटीका सहकर्मीहरुलाई बोलाएर यो रक्तदान कार्यक्रम गरेका हौं ।’ 

सो अपिललाई सहर्ष स्वीकार्दै स्थानीयले घरदैलोमै रक्तदान गरेको कर्माचार्यले बताए । यस्तो महामारीको अवस्थामा रगतको अभावले थप कसैले ज्यान गुमाउनु नपरोस् भनेर यो कार्यक्रमको आयोजना गरेको कर्माचार्यले स्पस्ट पारे ।

यस्तो लकडाउनको समयलाई चुनौतीको रुपमा सामना गरेर रक्तदान कार्यक्रम गर्दा व्यक्तिगत सुरक्षाको सबै साधन अपनाइ सावधानिपूर्वक रक्तदान सम्पन्न गरेको महाबौद्ध उपशाखाका सचिव प्रकाश अमात्यले बताउनु भयो । 

‘सामाजिक दुरी कायम गरी संक्रमणको सुरक्षा व्यवस्थापन कायम गरी घरदैलोमै रगत संकलन गरिने हुँदा यसले रक्त संकलन र संचारमा नौलो अभ्यासको थालनी गर्ने देखिन्छ’ सचिव अमात्यको भनाई थियो ।

पछिल्लो समय रक्तदाता घरघरमै सीमित भएकोले स्वास्थ्य क्षेत्रमा रगतको अभाव चुलिएको छ । त्यसैले पनि रेडक्रसले घरदैलो रगत संकलन अभियानलाई तीव्र बनाएको छ । 

प्रत्येक घरपरिवारवाट एक जनाको दरले नियमित रगत दान गर्ने हो भने हालको अभाव सामान्य हुनेछ । तसर्थ ‘एक घर एक रक्तदाता’ अभियानलाई महामारीको अवस्थामा पनि व्यापकता दिनु जरूरी देखिन्छ ।

Categorized in समाज