arin enterprises

काठमाडौं महानगरभित्र मातृभाषा शिक्षा लागू हुने

SamacharDesk – विकाश | २०७६ फाल्गुण १२, सोमबार

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौं महानगर भित्रका विद्यालयहरुमा मातृभाषा शिक्षा लागू गराउने बताउनुभएको छ ।

नेपालको पहिलो मातृभाषा माध्यमबाट अध्यापन हुने जगतसुन्दर ब्वनेकुथि माध्यामिक विद्यालयको ३०औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मेयर शाक्यले मातृभाषा माध्यमबाट पठनपाठन भएमा विद्यार्थीले चाँडै सिक्न सकिने बताउनुभयो ।

मातृभाषा माध्यमबाट अध्ययन गर्दा पछि पर्ने भ्रम समाजमा रहेको बताउँदै जगतसुन्दर ब्वनेकुथिका विद्यार्थीहरुको नतिजाले यस्तो भ्रम चिर्न सफल भएको बताउनुभयो ।

काठमाडौं महानगरपालिका १५ वडाका अध्यक्ष साथै कामपा प्रवक्ता ईश्वरमान डंगोलले मातृभाषा बोल्दा समाजमा अघि बढ्न नसकिने भ्रम पैदा भएको बताउँदै भन्नुभयो, ‘मेरै दुवै छोरालाई सानैदेखि मातृभाषा नेपालभाषा मात्रै सिकाएको थिएँ, आज समाजमा दुवै राम्रै स्थान बनाउन सफल छन् र पेशागत क्षेत्रमा पनि अघि नै छन् ।’

शताब्दी पुरुष जोशीले मातृभाषा बोल्न नसक्ने व्यक्तिले विश्वका हरेक भाषा नै जानेको भएपनि त्यसले कुनै महत्व नराख्ने बताउनुभयो । मातृभाषा भनेको समाजको पहिचान साथै अमूर्त सम्पदा नै भएको भन्दै मातृभाषालाई बचाउन राज्यले पहल गर्नुपर्ने बताउनुभयो ।

विद्यार्थीलाई भत्ता दिएर सँस्कृत शिक्षा दिने राज्यले नेपालभाषा लगायत अन्य मातृभाषा शिक्षाको लागि पनि सुविधा दिनुपर्ने सँस्कृतिविद जोशीको भनाई थियो ।

 

एकै कार्यक्रममा प्रधानाध्यापकदेखि विद्यार्थीहरु पनि सम्मानित

कार्यक्रममा मेयर शाक्यले वाङमय शताब्दी पुरुष डा.सत्यमोहन जोशीलाई सम्मान गर्नुभयो । सँस्कृतिविद् जोशीलाई दोसल्ला ओढाई सम्मान पत्रसहित सम्मान गरिएको थियो ।

सोही कार्यक्रममा ब्वनेकुथिकि संस्थापक प्रिन्सिपल रत्नदेवी कसाः, पूर्व प्रिन्सिपल माया मानन्धर र शिक्षिका भगवती महर्जनलाई जनही एक लाख रुपैयाँ राशिसहित सम्मान गरिएको थियो ।

ब्वनेकुथिमा २५ वर्षभन्दा बढि सेवा दिएकि प्रिन्सिपल सुनिता मानन्धरसँगै शिक्षिका मधु दर्शनधारीलाई पनि सम्मान गरिएको थियो । रोशना शाक्य नगद पाँच हजार सहित उत्कृष्ट शिक्षिका घोषित भइन् ।

विभिन्न प्रतियोगिताहरुमा विजयी हुन सफल ब्वनेकुथिका पूर्व विद्यार्थीहरुलाई कार्यक्रममा सम्मान गरियो । नेपालभाषा विषयमा उत्कृष्ट अंक ल्याउन सफल तीनजना विद्यार्थीलाई विरञ्ची मोति सिरपाः (पुरस्कार) प्रदान गरिएको थियो ।

ब्वनेकुथिलाई स्थापनाकालदेखि निरन्तर सहयोग गर्दै आएको जापानी संस्था हिकिभाका अध्यक्ष सोजा हामाजाकिले ब्वनेकुथिलाई ३० वर्ष पुगेको अवसरमा वधाई पत्रको साथमा विभिन्न उपहारहरु पनि प्रदान गर्नुभयो ।

कार्यक्रममा कामपा शिक्षा विभागका शिक्षा अधिकृत तारापति खरेल, ब्वनेकुथि संचालक समितिका सदस्य डा.चुन्दा बज्राचार्य, अध्यक्ष लक्ष्मीदास मानन्धर लगायतको पनि उपस्थिती रहेको थियो ।

Categorized in समाज