किन देखाइएन मंगलबारको दिनमा दशअवतार
SamacharDesk – कल्चर ब्युरो | २०७५ आश्विन १०, बुधबार

थःनेयाः भनिने इन्द्रजात्रामा पुर्णिमाको दिनमा पनि वसन्तपुरमा दशअवतार देखाइएन । प्रदर्शनको सम्पूर्ण तयारी भइसकेर पनि व्यवस्थापकीय समस्याका कारण देखाइ दशअवतार प्रदर्शन नगरिएको हो ।
ईन्द्रजात्राको तेश्रो दिन दशअवतार प्रदर्शन नै हुन सकेन भने रथजात्रा शुरु हुने चौथो दिनमा राष्ट्रप्रमुखको उपस्थितीमा प्रदर्शन गर्नुपर्नेमा बेलुकिमात्र प्रदर्शन भएको थियो । यसबारे कलाकार समूहले माइकमा सार्वजनिक रुपमा बोल्न खोज्दा दशअवतार गुठीका अध्यक्ष दिपकप्रसाद श्रेष्ठले बोल्न नदिइ माइकको तार नै छुटाइदिएका थिए । यस्तो स्थिती श्रृजना हुनेवित्तिकै कलाकार समूहले दशअवतार प्रदर्शन नगरेका हुन् ।
आफुहरुले निकै समस्याका बीच दशअवतारलाई निरन्तर गर्न खोज्दा पनि व्यवस्थापकीय पक्षबाट बेवास्ताको साथमा अवरोध हुन थालेपछि आफुहरुले दशअवतार प्रदर्शन बन्द गरेको कलाकार साथै दशअवतार निर्देशक राजन शाहिले बताउनुभयो ।
कम बजेटमा पनि दशअवतारका लागी उपलब्ध पुरा बजेट प्रदर्शनको लागी प्राप्त नहुने कलाकार नवीन शाहिले बताउनुभयो । ‘दशअवतार प्रदर्शनका लागी एक लाख रुपैयाँको बजेट आउँछ । त्यसमा पनि हामीलाई ७५ हजारमात्र दिने भनियो’ शाहिले बताउनुभयो । ‘त्यसमा पनि अहिलेसम्म हामीलाई ३५ हजारको एउटा चेक र १० हजार नगद दिइयो । चेक पनि सार्वजनिक विदाको दिन उपलब्ध गराइयो । कहाँ गएर चेक साट्ने ?’
दशअवतार प्रदर्शनका लागी भुकम्प पछि भारतबाट भारतीय रामलीलाको सामग्री ल्याइएको र त्यसमा मौलिकता नभएको पनि कलाकार समूहले जनाएको छ । यसबारे पनि गुठीलाई बारम्बार जानकारी गराउँदा पनि बेवास्ता गरेको जनाएको छ ।
मुख्य समस्या आर्थिक नभई व्यवस्थापन नै भएको कलाकार समूहको भनाई रहेको छ । दशअवतार प्रदर्शनमा वर्षौंदेखि सक्रिय समूह, कलाकारहरुसँग केही सरसल्लाह नगर्ने र दशअवतारको बारे केही थाहा नभएका व्यक्तिहरुबाट निर्णय हुने भइरहँदा यस्ता समस्या उत्पन्न भएको उनीहरुको भनाई छ ।
दशअवतार प्रदर्शनलाई व्यक्तिगत भन्दा संस्थागत बनाइएमा यी सारा समस्या आफैं समाधान हुँदै जाने कलाकारहरुले भन्दै आएका छन् ।
Categorized in संस्कृति