किर्तिपुरमा पर्यटक प्रवर्ध्दन गर्न योजनाबद्ध प्रयासको खाँचो
SamacharDesk – समाचारडेस्क | २०७५ आषाढ ८, शुक्रबार

किर्तिपुर नगरमा पर्यटकिय सम्भावना प्रबल रहेकामा सो को प्रर्वद्धनको लागी चरणबद्ध कार्यक्रमको खाँचो औल्याइएको छ । किर्तिपुरमा सम्पन्न ‘किर्तिपुरको संस्कृति, सम्पदा र पर्यटन प्रवर्ध्दनमा सञ्चारमाध्यमको भूमिका’ विषयक एक अन्तर्क्रियामा सरोकारवालाहरु सो खाँचो औल्याएका हुन् ।
कार्यक्रममा नगरपालिकाका प्रमुख रमेश महर्जनले किर्तिपुरका ऐतिहासिक मूर्त, अर्मूत सम्पदा, संस्कृतिको प्रर्वद्धन, संरक्षणबाट पर्यटन प्रर्वद्धनको प्रबल सम्भावना रहेको बताउनुभयो । चम्पापुरमा केवल कारस्थापनाको लागि सम्भाव्यता अध्ययन भइरहेको बताउँदै प्रमुख महर्जनले नगरपालिकाले स्थानीय पर्यटक पथप्रदर्शक, संस्कृति संरक्षण, इतिहासको खोजी, होमस्टेको प्रर्वद्धन कार्यक्रमलाई चरणबद्ध रुपमा अघि बढाउने योजना तर्जुमा गरिरहेको पनि जानकारी गराउनुभयो ।
सो अवसरमा पर्यटनविद् दिलेन्द्र श्रेष्ठले पर्यटकहरुको दृष्टि र बुझाईबाट स्थानीय विकास र पूर्वाधार निर्माणलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाली संस्कार, संस्कृति र परम्परामा भएका राम्रा, रोचक र ऐतिहासिक पक्षलाई समयसापेक्ष प्रचारप्रसार, परिमार्जन गरी नयाँ नयाँ सिर्जनात्मक कार्य गर्नुपर्नेमा जोड दिनुभयो ।
गोरखापत्रका पूर्व सम्पादक एवं वरिष्ठ पत्रकार पुष्करभक्त माथेमाले सञ्चारमाध्यमले पर्यटकलाई लक्षित गरी उपयोगी सूचना प्रवाहलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभयो । वरिष्ठ पत्रकार एवं नेपालभाषा टाइम्स दैनिकका सम्पादक सुरेशकिरण मानन्धरले संस्कृति, जात्रा, पर्व र परम्पराका विषयमा सञ्चारकर्मीले पर्यटकलाई लक्षित गरी आकर्षक तवरमा नयाँ नयाँ समाचार कोणबाट प्रस्तुत गर्नुपर्नेमा जोड दिनुभयो ।
नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष श्रीकृष्ण महर्जनले किर्तिपुरलाई चिनाउन यसको इतिहास लेखन, सम्पदा निर्माण, मूर्त र अर्मूत संस्कृति जोगाउन नगरपालिकाले सञ्चारमाध्यमसँग सहकार्य गरेर अघि बढ्न आग्रह गर्नुभयो ।
अन्तर्क्रियाका सहभागीहरुले होमस्टेको कार्यक्रमलाई बढावा दिनुपर्ने, किर्तिपुरका विभिन्न क्षेत्रलाई सम्पदा मार्ग र सम्पदा क्षेत्रको घोषणा गर्नुपर्नेमा जोड दिँदै पर्यटकहरु कम्तीमा एक दिन बस्ने वातावरण तयार गर्नुपर्ने र नयाँ पर्यटकीय गन्तव्यको पहिचान र प्रचारप्रसार गर्नुपर्ने विचार राखेका थिए ।
सोही कार्यक्रममा सगरमाथा आरोहण गर्ने महिला पत्रकारद्वय कल्पना महर्जन र पूर्णिमा श्रेष्ठलाई पनि सम्मान गरीएको थियो ।
Categorized in समाज