कुन राष्ट्रले जित्नेछ यसपालिको विश्वकप
SamacharDesk – स्पोर्ट्स ब्युरो | २०७५ आषाढ ३१, आइतबार

अन्ततः रसियामा जारी विश्वकपको आज फाइनल खेल हुँदैछ । आजको फाइनल खेलमा क्रोएशिया र फ्रान्स उपाधीको लागी आमने सामने हुँदैछन् ।
सेमिफाइनलमा बेल्जियमलाई हराउँदै फ्रान्स र इङ्गल्यान्डलाई हराउँदै क्रोएशिया फाइनलसम्म पुगेको हो । यी दुइ राष्ट्रमा क्रोएशिया पहिलोपल्ट फाइनलसम्म पुग्न सफल भएको छ भने फ्रान्सले एकपटक उपाधी जित्नुका साथै तेश्रोपल्ट फाइनल पुगेको हो ।
फ्रान्सले सन् १९९८ मा आफ्नै देशमा विश्वकपको आयोजना हुँदा फाइनलमा ब्राजिललाई हराउँदै उपाधी जितेको थियो । सन् २००६ मा भने फाइनलमा ईटालीसँग हार्दै फ्रान्सले उपविजेतामा चित्त बुझाउनु परेको थियो ।
क्रोएशियाले विश्वकप खेल्न थालेको पनि फ्रान्सबाटै हो । सन् १९९८ मा फ्रान्समा विश्वकपको आयोजना हुँदा क्रोएशियाले पहिलोपल्ट विश्वकपमा खेलेको थियो ।
९८ को विश्वकपमा क्रोएशिया सेमिफाइनलसम्म पुगेको थियो । सेमिफाइनलमा क्रोएशिया फ्रान्ससँगै हारेको थियो । उक्त विश्वकपमा क्रोएशियाले नेदरल्यान्डलाई हराउँदै तेश्रो स्थान हासिल गरेको थियो ।
फ्रान्स र क्रोएशिया योभन्दा अगाडि पाँचपटक आमने सामने भइसकेका छन् । पाँच मध्ये तीन खेलमा फ्रान्सले जितेको थियो भने दुइवटामा बराबरी भएको थियो । समग्रमा भन्नुपर्दा क्रोएशियाले अहिलेसम्म फ्रान्सलाई हराएको छैन ।
जारी विश्वकपमा भने क्रोएशिया अगाडि देखिएको छ । क्रोएशियाले फाइनलको यात्रासम्म सामना गरेको ६ वटै खेलहरु जितेको छ भने फ्रान्सले ५ वटा खेल जितेर एउटामा बराबरी खेलेको छ ।
एकपटक उपाधी जितेको फ्रान्स दोश्रो उपाधी जित्ने लक्ष्यमा छ भने क्रोएशियाले पहिलोपल्ट विश्वकपको उपाधी जित्दै ईतिहास रच्न खोज्दैछ ।
उपाधी भिडन्त सेन्ट पिटर्सवर्ग स्टेडियममा नेपाली समय अनुसार बेलुकी ८ः४५ बाट शुरु हुँदैछ ।
Categorized in स्पाेर्ट्स