arin enterprises

जनजाती चलचित्र महोत्सवमा तापलय् पुरस्कृत

SamacharDesk – समाचारडेस्क – इन्टरटेनमेन्ट ब्युरो | २०७५ आषाढ १७, आइतबार

काठमाडौंमा आइतबार सम्पन्न दोश्रो आदिवासी जनजाती चलचित्र महोत्सवमा नेपालभाषाको चलचित्र ‘तापलय्’ले पब्लिक च्वाइस अवार्ड जित्न सफल भएको छ ।

महोत्सवमा प्रदर्शन गरीएका विभिन्न १४ आदिवासी जनजाती चलचित्रमध्येबाट नेपालभाषाको चलचित्र तापलय्ले अवार्ड जित्न सफल भएको हो । महोत्सवको दौरान चलचित्र हेर्न पुगेका दर्शकहरुबाट प्राप्त भोटको आधारमा तापलय्ले उक्त अवार्ड जितेको हो ।

पब्लिक च्वाइस अवार्डका लागी मगर समुदायको चलचित्र रैयाँ, सुनुवार समुदायको गो सु नङा र नेवार समुदायको तापलय् नामांकनमा परेको थियो । तापलय् चलचित्रले दर्शकबाट सबभन्दा बढि मत पाई अवार्ड जित्न सफल भएको हो ।

पुरस्कृत चलचित्र तापलय्लाई प्रमाणपत्रको साथै रु. २५ हजार नगद पुरस्कार पनि प्रदान गरीएको थियो । कार्यक्रममा सूचना तथा संचार प्रविधीमन्त्री गोकुलप्रसाद बास्कोटाले चलचित्रका निर्देशक बालमुकुन्द प्रजापतिलाई प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभयो ।

गत मंसीरमा नेवाः फिल्म सोसाईटीबाट आयोजित नेवाः चलचित्र महोत्सवमा पनि तापलय् चलचित्रले नै पब्लिक च्वाइस अवार्ड जितेको थियो ।

कार्यक्रम मन्त्री बास्कोटाले जनजाती चलचित्र क्षेत्रको विकासको लागी हरसम्भव प्रयास गर्ने बताउनुभयो । नेपालकै पहिचान बनेको आदिवासी जनजाती समुदायको विकासका लागी राज्य हरदम तत्पर रहेको मन्त्री बास्कोटाको भनाई थियो ।

कार्यक्रममा महासंघया संस्थापक न्वकू लिसें वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधर, तामाङ चलचित्रकर्मी जेनिश डोङ, माझी चलचित्रकर्मी विन्दु माझीलगायतले मन्तव्य राखेका थिए ।

गत असार १५ गते शुक्रबारदेखि १७ गते आइतबारसम्म विभिन्न आदिवासी जनजाती समुदाय सम्वद्ध चलचित्रहरु देखाइएको थियो । महोत्सवमा नेवार, गुरुङ, तामाङ, मगर, थारु, माझी, शेर्पा, राजवंशी, राई, सुनुवार समुदायका चलचित्रहरु प्रदर्शन गरीएका थिए ।

Categorized in पेजथ्री