जुगलको गीति संग्रह ‘सिरपाः’ सार्वजनिक
SamacharDesk – विकाश | २०७६ फाल्गुण २३, शुक्रबार

चर्चित संचारकर्मी साथै गायक सुरजबीर बज्राचार्यको नेपालभाषाको जन्मदिन गीत ‘बुदिंया भिंतुना’ कभर गीत प्रतियोगिताका उत्कृष्ट ५ प्रतिस्पर्धीको गीत संग्रहित नेपालभाषाको एल्बम ‘सिरपाः’ सार्वजनिक भएको छ । ललितपुरमा आयोजित एक कार्यक्रममा उक्त एल्बम सार्वजनिक गरियो ।
पाटन दरवार क्षेत्रको नासः चुकमा आयोजित समारोहमा वरिष्ठ गायक जुजुकाजी रंजित, जनसंगीत श्रष्टा अमरराज शर्मा, इलोहं प्रकाशनका प्रवन्ध निर्देशक नरेशवीर शाक्य, ललितपुर महानगरपालिका वडा नं १६ का अध्यक्ष निर्मलरत्न शाक्य, संगीतकार जूगल डंगोल, गीति संग्रह प्रायोजक आर्टोम्यूज रेकर्डिङ स्टुडियोका प्रवन्ध निर्देशक केञ्जुमा सुब्बा, चेज टेलिभिजनका उत्पादक गोल्मा कम्पनीका प्रमुख सुरेश मल्ल, हिरण्यवर्ण महाविहारका आजु चित्रवीर बज्राचार्य, नेपाल घरेलु तथा साना उद्योग महासंघका पूर्व अध्यक्ष सुरेश प्रधानले उक्त संग्रह संयुक्त रुपमा सार्वजनिक गरे ।
कार्यक्रमका संयोजक दर्शनवीर शाक्यले ‘बुदिंया भिंतुना’ गीत सृजनाले समाजलाई नै उत्साहित बनाएको भन्दै प्रतिस्पर्धाले राम्रा कलाकारहरु आगमनलाई सहज बनाएको उल्लेख गरे ।
ललितपुर महानगरपालिका १६ वडाका अध्यक्ष एवं गीतकार निर्मलरत्न शाक्यले उत्कृष्ट ५ गायकलाई समेटेर एउटा गीति संग्रह आफूले पनि तयार पार्ने प्रतिवद्धता ब्यक्त गरे ।
कार्यक्रममा उत्कृष्ट गायकहरुले ‘सिरपा’मा संग्रहित गीतहरु प्रस्तुति समेत गरेका थिए ।
आर्टोम्यूज रेकर्डिङ स्टुडियोले निर्माण एवं प्रस्तुत गरेको यस गीति संग्रह सिरपा (अर्थात पुरस्कार) मा संगीतकार जूगल डंगोलद्वारा संगीतवद्ध गीतहरु संग्रहित छन् ।
‘सिरपा’ गीति संग्रहमा प्रतियोगीतामा प्रथम भएका गायक उत्तम महर्जनको ‘मफुत म्वाय् थ्व जीवन’, मुकेश शाक्यको स्वरमा ‘छंगु हे खँ ला खः’ सुमन मानन्धरको स्वरमा ‘भुतुमाली ब्वःथें’, रविन्सन कसाःको स्वरमा ‘बांलाबांलाचिंगु मिखा’ परमेश मल्लको स्वरमा सिरिसिरि वसन्तया फसय्’ गीत संग्रहित रहेको छ ।
गीतहरुको रचना सुरजवीर, दर्शनवीर, प्रकाश दीप श्रेष्ठ, पूर्णकाजी ज्यापु, हरिराम महर्जन ‘थेचो’को रहेको छ ।
सुरजवीर बज्राचार्यको शब्द र स्वरमा जूगल डंगोलले संगीत संयोजन गरेको जन्मदिनको शुभकामना गीत ‘बुदिंया भिंतुना’को कभर प्रतिस्पर्धामा १२१ प्रतिस्पर्धीले भाग लिएका थिए ।
प्रतियोगिता पेजथ्री बाःछिपौ (पाक्षिक) को आयोजनामा भएको थियो ।
Categorized in पेजथ्री