पर्यटन विकासका लागी सम्पदा दौड
SamacharDesk – सोसियल ब्युरो | २०७५ आषाढ ३१, आइतबार

नेपालमा पर्यटन विकासका लागि भन्दै काठमाडौंमा सम्पदा दौड आयोजना गरिएको छ । बिश्व सम्पदा क्षेत्रमा सुचीकृत स्वयम्भुको भुईखेलबाट शुरू भएको दौड भिमसेनस्थान, काष्ठमण्डप, हनुमानढोका, ईन्द्रचोक, मच्छिन्द्र बहाल, असन, डल्लु, धिमेल्वँह हुँदै स्वयम्भु परिक्रमा गरेर स्वयम्भु स्तुपामा सम्पन्न भएको थियो ।
विश्व युवा दक्षता दिवसको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रमलाई सम्वोधन गर्दै पुर्व प्रधानमन्त्री झलनाथ खनालले समाज र राष्ट्रको हरेक विकासका लागि युवाहरू जुझारू भई आफ्नो दक्षता प्रयोग गर्नुपर्ने बताउनु भयो ।
का.म.पा. १५ वडाका वडा अध्यक्ष ईश्वरमान डंगोल र नेपाल ओलम्पिक कमिटी अध्यक्ष साथै प्रतिनिधि सभाका सभासद् जीवनराम श्रेष्ठले देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको पर्यटन क्षेत्रको विकासका लागी स्थानीय मूर्त अमूर्त संस्कृति सम्पदाहरुको संरक्षण र विकासमा यूवाहरु सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बिभिन्न जिल्लाहरू, डोजोहरू र संस्थाहरूबाट प्रथम, द्वितीय र तृतीय भएका खेलाडीहरूलाई पुर्व प्रधानमन्त्री खनालले मेडल र ट्रफीको साथै सभासद् श्रेष्ठले प्रमाणपत्र प्रदान गर्नुभयो ।
नेपालका प्राचिन पौराणिक सम्पदाहरुलाई विश्व सामु चिनाउन समुदाय नै जुट्नुपर्ने सन्देश दिन सामुहिक रुपमासम्पदा दौड प्रतियोगिता आयोजना गरेको डल्लु आवास स्थानीय सहयोग समितिका अध्यक्ष राजा शाक्यले जानकारी दिनुभयो । साथै यस किसिमको सम्पदा दौड वर्षेनी आयोजना गरी विदेशी खेलाडीहरूलाई सहभागी गराउँदै जाने लक्ष्य रहेको शाक्यको भनाई थियो ।
कार्यक्रम डल्लु आवास स्थानीय सहयोग समितिले आयोजना गरेको थियो ।
