पेलेलाई पछ्याउँदै एम्बाप्पे युवा खेलाडि
SamacharDesk – स्पोर्ट्स ब्युरो | २०७५ आषाढ ३२, सोमबार

विश्वकप फुटबलको २१औं संस्करणमा फ्रान्सले उपाधी जितेसँगै आइतबार नै लुज्निकि रंगशालामा पुरस्कार वितरण पनि गरिएको छ ।
रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन, फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोन, क्रोएशियाका राष्ट्रपति कोलिन्दा ग्राबर, फिफा अध्यक्ष जियानी इन्फान्टिनोको उपस्थितीमा विजेता, उपविजेता सहित विभिन्न पुरस्कार वितरण गरीयो ।
पुरस्कार वितरणको क्रममा मैदानमा ठुलै वर्षा भएको थियो । वर्षाकै बीचमा फ्रान्सले विश्वकपको ट्रफि उचाल्दै विजयोत्सव मनायो ।
सर्वाधिक गोल गरेर ईङ्गल्यान्डका कप्तान ह्यारी केनले गोल्डन बुट जितेका छन् । केनले ३ खेलमा ६ गोल गरेका थिए । ट्युनिसियासँगको खेलमा दुइ गोल र कोलम्बिया विरुद्ध एक गोल गरेका केनले पनामासँगको खेलमा ह्याट्रिक गरेका थिए ।
युवा खेलाडि पुरस्कार फ्रान्सका एमबाप्पेलाई प्रदान गरीयो । १९ वर्षीय एम्बाप्पे रसियामा सम्पन्न विश्वकपको २१औं संस्करणमा सवैभन्दा कान्छो खेलाडि हुन् ।
एम्बाप्पेले युवा खेलाडि पुरस्कारसँगै फुटबल सम्राट ब्राजिलियन पेलेलाई पछ्याएका छन् । सन् १९५८ मा पेलेले विश्वकप खेल्दा १७ वर्षका थिए । एम्बाप्पेले आइतबार सम्पन्न फाईनल खेलमा गोल गर्दै फाइनलमा गोल गर्ने युवा खेलाडिको पेलेको रेकर्डलाई पनि पछ्याएका छन् ।
बेस्ट प्लेयरका रुपमा क्रोएशियन कप्तान साथै टिमका मिडफिल्डर लुका मोड्रिक पुरस्कृत भए । मोड्रिकले बेस्ट प्लेयरको रुपमा गोल्डन बल पाएका छन् ।
बेस्ट गोलकिपरको रुपमा बेल्जियमका गोलरक्षक थिबाउट कोर्टोइसको नाम घोषित भयो । कोर्टोइसले बेस्ट किपरको रुपमा गोल्डन ग्लब अर्थात सुनको पन्जा पाउनेछन् ।
