arin enterprises

फ्रान्स दोश्रो पटक विश्वकप जित्न सफल

SamacharDesk – स्पोर्ट्स ब्युरो | २०७५ आषाढ ३१, आइतबार

क्रोएशियालाई हराउँदै फ्रान्स दोश्रो पटक विश्व विजेता बन्न सफल भएको छ । रसियामा सम्पन्न विश्वकपको फाइनल खेलमा क्रोएशियालाई ४–२ ले हराउँदै फ्रान्सले दोश्रो पटक उपाधी उचालेको हो ।

फ्रान्सले २० वर्षपछि फेरी उपाधी जितेको हो । यो भन्दा अगाडि फ्रान्सले सन् १९९८ मा आफ्नै देशमा विश्वकपको आयोजना हुँदा फाइनलमा ब्राजिललाई हराउँदै पहिलो पटक उपाधी जितेको थियो ।

आइतबार सम्पन्न फाईनल खेलमा फ्रान्सले अग्रता लिएको थियो । १८औं मिनेटमा मान्जुकिकले बल बचाउने प्रयासमा गरेको हेडबल आफ्नै पोष्टभित्र छिर्दा फ्रान्सले अग्रता पायो ।

१० मिनेटपछि नै क्रोएशियाले खेललाई बराबरीमा फर्कायो । भिडाको पासमा ईभान परसिकले गोल गर्दै एक एकको बराबरी गरेर क्रोएशियालाई खेलमा फर्काए ।

१० मिनेट पछि नै फ्रान्सले पेनाल्टि पायो । ३८औं मिनेटमा फ्रान्सले पाएको पेनाल्टिलाई एन्टोनी ग्रिजम्यानले गोलमा परिणत गर्दै खेललाई २–१ मा पुर्याए । 

फ्रान्सले हानेको कर्नर प्रहारको बल परिसिकले हातले छुँदा फ्रान्सले पेनाल्टि पाएको थियो । अर्जेन्टिनाका रेफ्रि नेस्टोर पिटानाले भिआर हेर्दै फ्रान्सलाई पेनाल्टि दिएका थिए । जारी विश्वकपमा भिआरबाट दिइएको यो पहिलो पेनाल्टि हो ।

५२औं मिनेटमा दर्शकदीर्घाबाट केही दर्शकदीर्घाबाट फ्यानहरु मैदानमा आईदिँदा खेललाई केही समय वाधा पनि भएको थियो ।

५९औं मिनेटमा पउल पोग्बाले फेरी फ्रान्सको लागी तेश्रो गोल दिए । त्यसको केहि मिनेटपछि फेरी एमबाप्पेले ६५औं मिनेटमा चौथो गोल गरे । हर्नान्डेजको पासमा एमबाप्पेले हानेको बलले पोष्टको जाली चुम्न पुगेको थियो ।

६९औं मिनेटमा मान्जुकिकले क्रोएशियालाई दोश्रो गोल दिँदै खेलमा आशा जगाइदिए । फ्रान्सका गोलकिपर लोरीसले हानेको बललाई तुरन्तै मान्जुकिकले हानेर पोष्टमा छिराइदिएका थिए ।

उक्त गोलबाट केही आशा जागेपनि क्रोएशिया खेलमा फर्कन सकेन । त्यसपछि क्रोएशियाले गोल गर्ने थुप्रै प्रयास गरेपनि सफल हुन सकेन र उपाधी फ्रान्सले जित्यो । 

पहिलोपल्ट फाइनलमा पुगरे उपाधी जित्दै ईतिहास रच्ने क्रोएशियाको सपना पुरा हुन सकेन ।

यो भन्दा अगाडि सन् १९९८मा फ्रान्सले पनि पहिलो पटक फाइनलमा पुगेर उपाधी जितेको थियो भने स्पेन पनि २०१० मा पहिलोपल्ट फाइनलमा पुगेको टिमले उपाधी जितेको थियो ।

विश्वकपको यो संस्करणमा पनि क्रोएशियाले यस्तै ईतिहास दोहर्याने आशा धेरैले गरेका थिए । तर क्रोएशियाले ईतिहास रच्न सफल भएन । फ्रान्सले भने एक पटक भन्दा बढि विश्वकप जितेको छैठौं देशको रुपमा आफ्नो नाम दर्ता गर्न सफल भएको छ ।

विश्वकपको ईतिहासको ९००औं खेलसँगै रसियामा जारी विश्वकप फुटबल पनि आज सम्पन्न भएको छ ।

विश्वकपको २२औं संस्करण अब सन् २०२२ मा कतारमा आयोजना हुनेछ ।

Categorized in स्पाेर्ट्स