arin enterprises

बिहीबार एकदिन देशैभरिका स्वास्थ्य संस्था ठप्प

SamacharDesk – हेल्थ ब्युरो | २०७५ श्रावण ३, बिहिबार

गत १९ दिनदेखि जुम्लामा अनशनरत् डा. गोविन्द केसीका माग सम्बोधन गर्न माग सहित नेपाल चिकित्सक संघले बिहिबार एकदिन देशैभरका स्वास्थ्य संस्था ठप्प गर्ने भएको छ । 

चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै अनसनतर डा. केसीको माग सम्वोधनमा सरकारले चासो नदिएको भन्दै संघले सांकेतिक रुपमा बिहीबार देशैभरका स्वास्थ्य संस्था मा आकस्मिक बाहेकको सेवा बन्द गर्न लागेको हो ।

एक दिन स्वास्थ्य संस्था बन्द गरेर सांकेतिक जनाऊ दिँदा पनि सरकारले कुनै चासो नदेखाए डा. केसीको जीवनरक्षाका लागि अनिश्चितकालीन बन्दमा उत्रिन बाध्य हुने पनि संघको चेतावनी रहेको छ ।

वार्ता समिति गठन गरी डा. केसीको माग पूरा गर्न संघले गत सोमबार सरकारलाई ४८ घन्टे ‘अल्टिमेटम’ दिएको थियो । यसबीचमा सरकारले कुनै चासो नदेखाएपछि सेवा ठप्प पार्न बाध्य भएको संघले जनाएको छ । सरकारले वार्ता समिति गठन गरेपनि वार्ता समितिले मंगलबारको वार्तामा डा. केसीका माग सम्बोधन गर्ने अधिकार आफुसँग नभएको भनेको थियो ।

संघले स्वास्थ्य संस्थाहरु बन्द गरेर बिहीबार मध्याह्न १२ बजे माइतीघरमन्डलामा प्रदर्शनमा उत्रन पनि सबै चिकित्सकहरुलाई आह्वान गरेको छ ।

यता, वीर र टिचिङ अस्पतालका आवासीय चिकित्सकहरुले समेत पठनपाठन ठप्प पारेका छन् ।

१९ दिनदेखि अनशनमा रहेका डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । मुटु तथा घाँटीमा समस्या देखिएकाले उनलाई जुनसुकै बेला जे पनि हुनसक्ने चिकित्सकहरुले बताएका छन् ।

Categorized in राष्ट्रिय