भक्तपुर सम्बन्धी दुइ पूस्तक एकैसाथ सार्वजनिक
SamacharDesk – कल्चर ब्युरो | २०७५ आश्विन ४, बिहिबार

भक्तपुरका सम्पदा, संस्कृति र इतिहास सम्बन्धी दुइवटा कृतिहरु आज एकैसाथ सार्वजनिक भएको छ । पत्रकार साथै साहित्यकार जितेन्द्र रसिकको अलकापुरी भक्तपुर र अनुसन्धाता एवमे संस्कृतिविद् ओम धौभडेलको भक्तपुर दरवारका मल्लकालिन भारदारहरु आज एकैसाथ सार्वजनिक भएको हो ।
आज भक्तपुरको सुर्यविनायकमा आयोजित एक कार्यक्रममा पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहाल, संस्कृतिविद तेजेश्वर बाबु ग्वंग:ले संयुक्त रुपमा दुबै कृतिको लोकार्पण गर्नुभयो । पुस्तक लोकार्पणसँगै महानिर्देशक दाहालले विभागले पुरा गर्न नसकेको काम लेखक रसिक र धौभडेलले गरिदिएको बताउनुभयो । पुरातत्व विभागको नजर पुग्न नसकेको सम्पदा र संस्कृतिको क्षेत्र समेत अलकापुरी भक्तपुर कृतिमा समेटिएको दाहालको भनाई थियो ।
संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगःले हालसम्म प्रकाशित भक्तपुरका सबै पुस्तकहरुमा मण्डपशैलीका मन्दिरलाई प्यागोडा लेख्दै आएकोमा आपत्ती जनाउँदै अलकापुरी भक्तपुर कृतिले उक्त भ्रम चिरेको बताउनुभयो । प्रकाशित कृतिहरुले मण्डपशैलीका सम्पदाहरुका विषयमा स्पष्ट पारेकोले उक्त कृति भक्तपुरको सम्पदा र संस्कृतिको क्षेत्रमा निकै महतवपूर्ण रहेको संस्कृतिविद् ग्वंगःको विचार थियो ।
लेखक ओम धौभलेलको कृति ‘भक्तपुर दरवारका मल्लकालिन भारदारहरु’ले उनका पुस्ताहरुलाई आफ्नो पुर्खाहरु चिन्ने मौका मात्र नदिई भक्तपुरका संस्कृति र सम्पदाका क्षेत्रमा कुन भारदारकहरुको योगदान कस्तो हरेको थियो भन्ने समेत देखाएको पनि ग्वंगःले बताउनुभयो ।
अलकापुरी भक्तपुरका कृतिकार जितेन्द्र रसिकले ८ वर्षको मेहेनतपछि उक्त पुस्तक तयार पारेको बताउनुभयो । रसिकको यो आठौं प्रकाशित कृति हो ।
भक्तपुरका मल्लकालिन भारदार कृतिका लेखक ओमप्रसाद धौभडेलले मल्लकालिन समयको राज्यव्यवस्थादेखि लिएर तत्कालीन संस्कृति, सम्पदा निर्माणदेखि विकाससम्मका विषयवस्तु बारे कृतिबाट जानकारी लिन सकिने बताउनुभयो । उहाँले यस पुस्तकमार्फत कतिपय अलिखित ईतिहासको जानकारी पाउनुका साथै कैयन भक्तपुरेलाई आफ्नो पूर्खा चिन्न र पुर्खाको योगदानबारे जानकारी समेत लिन सकिने पनि बताउनुभयो ।
कार्यक्रममा दुबै पुस्तकमा विभिन्न क्षेत्रबाट योगदान दिएको सहयोगीहरुलाई मायाको चिनो सहित सम्मान गरिएको थियो । कार्यक्रममा भक्तपुर विकास सहयोग समतिका निवर्तमान अध्यक्ष, कृष्णलाल प्रधान, भक्तपुर साहित्यिक समाजका अध्यक्ष राजुराम मुनंकमी, कथाकार माया ठकुरी, प्राज्ञ मातृका पोखरेल, ज्यापु संस्कृति विकास कोषका उपाध्यक्ष सन्तकुमार महर्जन, वरिष्ठ समालोचक डा. देवीप्रसाद सुवेदी लगायतको उपस्थिती थियो ।
Categorized in संस्कृति