arin enterprises

लकडाउनमा घरदैलो रगत संकलन अभियान

SamacharDesk – केके मानन्धर | २०७६ चैत्र १९, बुधबार

मध्यपुरस्थित निगुपुखू क्षेत्रमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

ब्लड डोनर्स एसोसियसन नेपाल, ब्लोडानले घरदैलो रगत संकलन अभियान अन्तर्गत १३औं चरणमा कार्यक्रम गरि मध्यपुरबाट रगत संकलन गरेको हो । 

भक्तपुर चेम्बर अफ कमर्श र लायन्स क्लब अफ भक्तपुर रियलटेकले समन्वय गरेको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी, भक्तपुरले प्राविधिक सहयोग गरेको थियो ।

नेपाल सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न देशैभर लकडाउन घोषणा गरेको अवस्थामा यो घरदैलो रक्त संकलन अभियान भएको हो । 

लकडाउनको सामना गरेर कार्यक्रम गर्नुको औचित्यको विषयमा सोधिएको प्रश्नमा भक्तपुर चेम्बरका अध्यक्ष तथा संयोजक न्हुछेरत्न मानन्धरले सुरक्षित भएर रक्तदान सम्पन्न गरेको दाबी गरे ।

‘अहिले सामाजिक दुरी बनाएर साबुनपानीले नियमित हात धुनु पर्छ । ३/३ फिटको दुरी बनाएर निश्चित समयको लागि रक्तदान गरेका छौं’ मानन्धरको भनाइ थियो ।

पछिल्लो समय रक्तदाता घरघरमै सीमित भएकोले स्वास्थ्य क्षेत्रमा रगतको अभाव चुलिएको छ । त्यसैले पनि ब्लोडानले घरदैलो रगत संकलन अभियानलाई तीव्र बनाएको ब्लोडान भक्तपुरका सचिव रूकेश रञ्जितले जनाए । 

ब्लोडानले स्थानिय संघसंस्थाको समन्वयमा यसअघि काठमाडौंको असन, ठमेल, कीर्तिपुर लगायतका ठाउँमा रक्तदान गरेको थियो ।

कार्यक्रममा १९ जना रक्तदाताले रक्तदान गरेका थिए ।

Categorized in समाज