वडा ५ मा ३९ जनाको र्यापिड टेस्ट नेगेटिभ
SamacharDesk – बिराजकाजी राजोपाध्याय | २०७७ बैशाख ३, बुधबार

सनसिटीका कोरोना संक्रमित सम्पर्कमा आएका काठमाडौँ महानगरपालिका वडा ५ का ३९ जनाको र्यापिड टेस्ट रिपोर्ट नेगेटिभ आएको छ ।
काठमाडौँ पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने कोरोना पोजेटिभ देखिएका दुई जना काठमाडौँ महानगरपालिकाको वडा नम्बर–५ को समेत सम्पर्कमा पुगेको जानकारीसँगै त्यहाँका ३९ जनाको र्यापिड टेस्ट गरिएको थियो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले अपार्टमेन्टमा रहेका दुई संक्रमित चैत्र ९ गते वडा–५ मा उपस्थित भएको प्रमाणित भएसँगै वडा–५ का जनप्रतिनिधि, कर्मचारी र राहत वितरणमा खटेका सबैको र्यापिड टेस्ट गराइएको जानकारी दिनुभयो ।
वडा नम्बर–५ का अध्यक्ष रमेश डंगोलले पनि उहाँहरु चैत ९ गते दिउँसो १२ बजेतिर छोरीको जन्मदर्ता गर्नका लागि वडाको सम्पर्कमा आएको र उहाँहरुको काम सम्पन्न गरेर पठाइएको पुष्टि गर्नुभयो ।
‘गत चैत ९ गते १२ बजेतिर उहाँहरु श्रीमान र श्रीमति दुबै जना वडा कार्यालय आउनुभएको थियो’ डंगोलले भन्नुभयो । ‘पछि उहाँहरुमा कोरोना पोजेटिभ देखियो भनेपछि हामीले उहाँहरुसँग सम्पर्कमा रहेको आशंकामा यहाँका जनप्रतिनिधि, कर्मचारी र राहतमा खट्ने सबैको र्यापिड टेस्ट गर्यौँ । सबैको रिपोर्ट नेगेटिभ आएको छ ।’
काठमाडौँ क्षेत्र नम्बर–५ का प्रदेश सांसद नारायण सिलवालले पनि ३९ जनाको र्यापिड टेस्ट गरेको र सबैको रिपोर्ट नगेटिभ आएको जानकारी सामाजिक सञ्जालमार्फत दिनुभएको छ । उहाँले आफू र वडाध्यक्षको समेत टेष्ट नेगेटिभ आएको जानकारी दिनुभयो ।
Categorized in स्थानीय