विश्व सरसफाई दिवसमा स्वयम्भुमा सरसफाई
SamacharDesk – कल्चर ब्युरो | २०७५ भाद्र ३०, शनिबार

सेप्टेम्बर १५, आज विश्व सरसफाई दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईयो । यहि क्रममा वज्राचार्य क्लबले स्वयम्भू परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
गुंला धर्म पनि सम्पन्न भएको र विश्व सरसफाई दिवस पनि पर्न आएको संयोगमा आज स्वयम्भु परिसरमा क्लबले गुंला अवधिभर थुप्रिएको फोहर संकलन गरी सरसफाई गरेको हो । सरसफाई कार्यक्रममा क्लबका पदाधिकारी, सदस्य लगायत मिस नेवाः सुनिता डंगोल र रिजु मानन्धरको पनि उपस्थिती थियो ।
नेपाल सम्वत अनुसार गुंला महिनामा एक मनासम्म नेवार समुदायका विभिन्न टोलका गुंलाबाजा, धाःबाजा, काःबाजा लगायतका बाजा समुहले स्वयम्भू परिक्रमा गर्ने गर्छन् । सो अवसरमा हजारौंको संख्यामा बाजा समूहको साथमा भक्तजनहरु स्वयम्भु पुग्ने गर्छन् ।
सरसफाई पश्चात क्लबका अध्यक्ष ज्योति वज्राचार्यले यस प्रकारका कार्यक्रमले सम्पदा क्षेत्रको साथै आप्mनो टोलशहरको सरसफाईमा समेत जनचेतना जाग्ने बताउनुभयो ।
कार्यक्रम क्लबका सल्लाहकार निर्मल वज्राचार्यको संयोजकत्वमा सम्पन्न भएको थियो ।
क्लवले केहि दिन अघि मात्र सम्पन्न पंचदान पर्वको अवसरमा पनि स्वयम्भूस्थित वैलोचन तीर्थ जीर्र्णोद्धारको लागी सामुहिक पंचदानबाट रकम संकलन गरेको थियो । विगतमा पनि क्लबले सामुहिक पंचदान संकलनबाट काठमाडौंका सातवटा महाविहार जीर्र्णोद्धारको लागी आर्थिक सहयोग जुटाएको थिए ।
२०७५ भाद्र ३० गते रातको १२ः४१ बजे पोष्ट भएको
Categorized in संस्कृति
