arin enterprises

सार्वजनिक शौचालय सरसफाई सम्वन्धी तालिम सम्पन्न

SamacharDesk – विगेन तुलाधर | २०७६ चैत्र ३, सोमबार

सार्वजनिक शौचालय सरसफाई सम्वन्धी एकदिने तालिम कीर्तिपुरमा सम्पन्न भएको छ । गुथि नामक गैर सरकारी संस्था र वाटर ऐड नेपालसंगको सहकार्यमा कीर्तिपुर नगरपालिकाले आयोजना गरेको तालीममा नगरमा सार्वजनिक शौचालयमा काम गर्ने २५ जना कर्मचारीहरुलाई शौचालय सरसफाई सम्वन्धी तालीम दिइएको थियो । 

हालका सार्वजनिक शौचालयमा उचित व्यवस्थापनमा तालिमप्राप्त सञ्चालकको कमी भएको कारण सार्वजनिक शौचालयको अवस्था नाजुक रहेको भन्दै नगरपालिकाले सार्वजनिक शौचालयमा काम गर्ने कर्मचारीहरुलाई तालीम दिएको हो । 

हाल विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाई कम गराउन सरसफाईमा ध्यान दिनुपर्ने अवस्थामा यस किसिमको तालीमको आयोजना गरिएको कीर्तिपुर नगरपालिकाले जनाएको छ । 

सरसफाईको कमीले यस किसिमका महामारी फैलाउन मद्दत पुग्ने विज्ञहरुको भनाई रहेको छ । 

‘कीर्तिपुरमा रहेका सार्वजनिक शौचालयको वर्तमान अवस्थाको सुधार गर्न शौचालयमा काम गर्ने कर्मचारीहरुलाई दक्षता दिलाउने र सरसफाईको काम गर्दा कर्मचारीहरुको व्यक्तिगत सरसफाई र सुरक्षा सम्वन्धी अवगत गराउनु नै तालीमको उद्देश्य हो’ कीर्तिपुर नगरपालिकाका स्वास्थ, वातावरण, वन, फोहरमैला व्यवस्थापन समितिका संयोजक तथा वडा नं १का अध्यक्ष हर्ष महर्जनले भने । 

साथै कीर्तिपुर नगरमा पाहुना आउँदा शौचालय कहाँ, कति टाढा छ भनेर जानकारी दिनसके र शौचालय व्यवस्थित र राम्रो सरसफाई भएमा पाहुनाहरु अझ धेरै समय बस्ने सम्भावना बढ्ने पनि महर्जनको भनाई थियो । 

सफाई कर्मचारीलाई हेर्ने समाजको पुरातन सोचलाई परिवर्तन गर्नको साथै सरसफाईकर्मीको क्षमता अभिवृद्धि गर्न र उनीहरुलाई व्यवसायिक रुपमा यो पेसामा प्रवर्ध्दन गर्न यो तालिम महत्वपूर्ण छ’ गुथिका सल्लाहकार प्रकाश अमात्यले भने । 

कार्यक्रममा प्रशिक्षाथीहरुलाई सरसफाई गर्दा प्रयोग गर्नुपर्ने सामग्रीको परिचयको साथै प्रयोग विधिको बारेमा सिकाईएको थियो । प्रशिक्षार्थीहरुलाई प्रशिक्षक रक्षा अधिकारीबाट प्रशिक्षण दिइएको थियो । 

कार्यक्रममा कीर्तिपुर नगरपालिकाका ज्ञान बज्र महर्जनले स्वास्थ्यको लागि सरसफाइ र शौचालयको महत्वको बारेमा प्रस्तुति दिए । 

हामीले सरसफाई गर्दा धेरै कुरामा ध्यान नदिने गरेका रहेछौं । मलाई ड्राई मप प्रयोगको बारे थाहा थिएन जुन मैले आज सिकें’ नगरपालिकाकी सरसफाई गर्ने कर्मचारी रचना देउलाले भनिन् ।

सार्वजनिक शौचालय सञ्चालन तथा व्यवस्थापन मार्गदर्शन पारित गर्ने पहिलो नगरपलिका कीर्तिपुर नगरपालिका रहेको छ । कीर्तिपुर नगरपालिकामा सार्वजनिक शौचालय सञ्चालन तथा व्यवस्थापन मार्गदर्शन कीर्तिपुर नगर सभाद्वारा पारित भइसक्यो र राजपत्रमा छापिने क्रममा छ ।

Categorized in समाज