'स्वस्थानी कथा नेपाल भूमिकै हो'
SamacharDesk – विकाश | २०७६ माघ ११, शनिबार

स्वस्थानी व्रतकथा नेपाल भूमिकै भएको दावी एक कार्यक्रमका वक्ताहरुले गरेका छन् । राजोपाध्याय समाज जिल्ला समन्वय समिति काठमाडौंबाट आयोजित ‘नेवाः समाजमा स्वस्थानी व्रतकथा’ विषयक विचार गोष्ठी कार्यक्रमका वक्ताहरुले यस्तो दावी गरेका हुन् ।
कार्यक्रममा बोल्दै सँस्कृतिविद् महेश्वर जुजु राजोपाध्यायले स्वस्थानी व्रतकथामा उल्लेख भएको पात्र नवराज, काठमाडौं उपत्यकाको आदिवासी ब्राम्हण राजोपाध्याय नै भएको दावी गरे । सँस्कृतिविद् जुजुले नवराज नामक पात्र गाःबहालस्थित महाःद्यःननि निवासी बन्हिराज शर्मा भएको बताए ।
‘थिमिमा भेट्टिएको एक हस्तलिखित ग्रन्थमा यस बालकको नाम बन्हिराज रहनेछ र भविष्यमा यो बालक नवराज भनी प्रख्यात हुनेछ भनी लेखिएको छ । उनको आमाको नाम पनि गोमा नै हो’ जुजुको भनाई थियो । ‘यसबाट नवराजको सक्कली नाम बन्हिराज हो भन्ने प्रमाणित भएको छ ।’
कथामा उल्लेख गरिएको लावण्य देश हालको साँखु र भक्तपुर राज्य भएको बताउँदै भक्तपुरमा हालसम्म पनि बन्हिराजको तलेजु मन्दिर रहेको पनि जुजुले जानकारी दिनुभयो ।
‘भक्तपुरमा दुइटा तलेजु छ । एउटा क्षेत्रीय स्तरको मल्ल राजाहरुको अर्को ब्राम्हणस्तरको, जसलाई हाल वानेलायकू भनिन्छ । वानेलायकूमा हालसम्म पनि यजमान र पुरोहित दुवै राजोपाध्याय ब्राम्हण नै रहने परम्परा छ र संकल्प वाक्य लिँदा बन्हिराजको नाम लिइन्छ’ जुजुले बताउनुभयो ।
अधिकारीले प्रकाशनको शक्तिबाट हाम्रा कथाहरु पनि भारतको बन्दै गएको बताउनुभयो
यी सबै प्रमाणको आधारमा बन्हिराज नै नवराज भएको र उनी राजोपाध्याय ब्राम्हण नै भएको दावी जुजुले दोहोर्याए ।
प्राज्ञ डा. निर्मलमणि अधिकारीले प्रकाशनको शक्तिबाट हाम्रा कथाहरु पनि भारतको बन्दै गएको बताउनुभयो । किताब छापिने भूगोल फरक हुँदा त्यस किताबको कथामा उल्लिखित स्थान र प्रसङ्गहरु पनि उनीहरुकै भूगोल अनुसार बन्दै गएको अधिकारीको भनाई थियो ।
राजोपाध्याय समाजका अध्यक्ष अमरराज शर्मा राजोपाध्यायले स्वस्थानीको मौलिकता र ऐतिहासिकताको खोजीको लागि अनुसन्धान जारी राख्नुपर्ने बताउनुभयो ।
जिल्ला समितिका संयोजक विरु सुवेदी राजोपाध्यायले नेपालमण्डलको मौलिक धार्मिक, सामाजिक सँस्कृतिको विषयमा यस किसिमका अन्तरक्रिया, गोष्ठीहरु निरन्तर आयोजना गरिरहने बताउनुभयो ।
समाजका महासचिव बिराजकाजी राजोपाध्यायले पहिचानको मुद्दा सशक्त बनिरहेकै बेला आफ्नै मौलिक पहिचान बोकेको धार्मिक सामाजिक सँस्कृतिलाई आदिवासीहरुले नै किन भारतको भनेर व्याख्या गरिरहेका छन् भनेर प्रश्न गर्नुभयो ।
Categorized in पेजथ्री