arin enterprises

‘पत्रकार महासंघका अध्यक्ष श्रेष्ठ नै हुन्’

SamacharDesk – विकाश | २०७६ पौष १३, आइतबार

नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ भएको दावी गरिएको छ । आइतबार ललितपुरमा आयोजित कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूले राजनीतिक दलले आफु सत्तामा हुँदा शक्तिको दुरुपयोग गर्दै आफ्ना नेतालाई महासंघको अध्यक्ष घोषणा गरेको आरोप दिँदै महासंघका अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ नै भएको दावी गरेको हो । 

नेवाः पत्रकार राष्ट्रिय दबूले आइतवार ललितपुरमा एक कार्यक्रमको आयोजना गर्दै सत्यनारायण वहादुर श्रेष्ठको १ सय ४औं जन्म–जयन्ती मनाएको हो । यस वर्षबाट महासंघका अध्यक्ष श्रेष्ठको जन्म जयन्ती मनाउने परम्पराको थालनी भएको उद्घोष पनि दबूले गरेको छ ।

कार्यक्रममा पत्रकार दबूका केन्द्रीय अध्यक्ष सुरजबीर बज्राचार्यले लुइकाएको ईतिहास सबैको सामु उजार होस् भन्ने उद्देश्यले नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठको जन्म जयन्ती मनाउने परम्पराको थालनी गरेको बताउनुभयो ।

श्रेष्ठको कर्म र योगदानको कदर होस् र पत्रकारिता क्षेत्रमा देखिएका अन्याय अन्त्यका लागि नेतृत्व गर्ने श्रेष्ठप्रति न्याय होस् भन्ने दबूको माग रहेको बज्राचार्यको भनाई थियो ।

दबूका सचिव केके मानन्धरले नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्षका रुपमा पत्रकार संगठित गर्ने अभियानको सांगठनिक शुरुवात सत्यनारायण वहादुर श्रेष्ठले नै गरेको बताए । तर महासंघको संस्थापक अध्यक्षका रुपमा कृष्णप्रसाद भट्टराईको नाम उल्लेख गर्दै राष्ट्रिय आमसंचार प्रशिक्षण प्रतिष्ठान समेत गठनको तयारीले इतिहास मेटिने चिन्ता बढेको जिकिर मानन्धरले गरे ।

नेपाल सरकारले कृष्णप्रसाद भट्टराईको नाममा आमसञ्चार प्रतिष्ठान गठनको योजना अगाडि बढाएकोमा व्यापक विरोध पछि कृष्णप्रसाद भट्टराईको नाम हटाएर प्रतिष्ठान गठन प्रक्रिया अगाडि बढाएपनि अझै पनि सत्यनारायण बहादुर श्रेष्ठको नाम उल्लेख गर्न–गराउन नसकिएको दबूका बरिष्ठ उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, महासचिव सुनिल महर्जन, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका अध्यक्ष डण्ड गुरुङ, मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंह लगायतको भनाई रहेको थियो । 

कार्यक्रममा दबूका अध्यक्ष बज्राचार्य, वरिष्ठ उपाध्यक्ष श्रेष्ठ, महासचिव महर्जन, सचिव मानन्धरको साथै सत्यनारायण वहादुर श्रेष्ठकी छोरी सुजिता मानन्धरले श्रेष्ठको सालिकमा माल्यार्पण गरेर श्रद्धान्जली व्यक्त गरेका थिए ।

नेपालमा राणाशासन समाप्त भएपछि पत्रकारहरुको सुविधा, हक–हितको संरक्षण लगायतका विषय केन्द्रीत भइ विसं.२००८ सालमा नेपाल टुडेको सम्पादक सत्यनारायण बहादुर श्रेष्ठको सभापतित्व नेपाल पत्रकार संघको गठन भएको थियो ।

संंघको पहिलो सभापति सत्यनारायण बहादुर श्रेष्ठकै सभापतित्वमा नेपाल पत्रकार संघको दोस्रो सभा पनि सम्पन्न भएको थियो । विसं.२००९ साल वैशाख २८ गते भोटाहिटीस्थित आर्य समाजको भवनको सभाकक्षमा भएको यो सभाले पनि सत्यनारायण बहादुर श्रेष्ठकै सभापतित्वमा नेपाल पत्रकार संघको पुर्नगठन गरेको इतिहासको दस्तावेजलाई पनि नेवाः पत्रकार राष्ट्रिय दबूले प्रष्टाएको छ ।

Categorized in पेजथ्री