सिद्धार्थ वनस्थलीका पूर्व विद्यार्थीहरुबाट छत्रपाटी अस्पताललाई सहयोग
SamacharDesk – बिराज | २०७८ जेठ २६, बुधबार

काठमाडौंको क्षेत्रपाटीस्थित छत्रपाटी निःशुल्क चिकित्सालय अस्पताललाई सिद्धार्थ बनस्थली स्कूलका पूर्व विद्यार्थीहरुले आर्थिक सहयोग गरेका छन् ।
सिद्धार्थ बनस्थली स्कूल ४७ साल ब्याचका विद्यार्थीहरुले अस्पतालमा अक्सिजन प्लान्ट राख्नको लागि डेढ लाख रुपैयाँ सहयोग प्रदान गरेको हो । आज अस्पताल परिसरमै पुगी पूर्व विद्यार्थीहरुले उक्त रकमको चेक अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।
सो अवसरमा सिद्धार्थ वनस्थलीका पूर्व विद्यार्थीहरुबाट बोल्दै दिपक जोशीले कोभिड महामारी नियन्त्रणका लागि महामारीको शुरुवाती दिनदेखि नै सहयोग गर्दै आएको जानकारी गराउनुभयो ।
पूर्व विद्यार्थी समूहबाट देशका विभिन्न स्थानमा सहयोग गर्दै आएकोमा त्यसैको निरन्तरताकै क्रममा डा. सोना श्रेष्ठ, डा. निरज श्रेष्ठ र डा. सपना श्रेष्ठको अगुवाईमा काठमाडौंको भित्री वस्ती क्षेत्रपाटी आइपुगेको जोशीले बताउनुभयो ।
अस्पतालका अध्यक्ष डा. श्रेष्ठले सहयोगको लागि कृतज्ञता पोख्दै संक्रमितलाई स्तरीय स्वास्थ्य सेवा दिन अस्पताल अहोरात्र खटिरहेको जानकारी गराउनुभयो ।
‘अत्याधुनिक प्रविधिसहितको आइसीयू, पोर्टबेल एक्सरे मेसीनसँगै विरामीलाई छरितो र स्तरीय सेवा दिन आवश्यक अत्याधुनिक मेसीन र प्रविधि यहाँ जडान गरेका छौं, अब अक्सिजनको समस्या नहोस् भनेर अक्सिजन प्लान्ट राख्न लागेका छौं’ श्रेष्ठको भनाई हो ।
विरामीलाई उपचारको साथमा खाना, औषधीसमेत निःशुक्ल उपलब्ध गराइएको श्रेष्ठले जानकारी गराउनुभयो ।
Categorized in समाज