arin enterprises

महागनर दिवसमा समाचारडेस्कका सम्पादक राजोपाध्याय सम्मानित

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ पौष १, बिहिबार

काठमाडौँ महानगरपालिकाको २७ औँ महानगर दिवसको अवसरमा १० जना पत्रकारहरु महानगर सुशासन पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् ।

काठमाडौं दरवार क्षेत्र वसन्तपुरमा आयोजित दिवसको मूल समारोहमा १० जना पत्रकारहरुलाई ५० हजार राशीसहितको पुरस्कारबाट सम्मानित भएका हुन् ।

यस क्रममा समाचारडेस्कका सम्पादक साथमा झीगु सः अनलाइनका प्रधान सम्पादक बिराजकाजी राजोपाध्याय पनि सम्मानित भएका छन् ।

साथमा नेपाल समाचारपत्रका सुनील महर्जन, नागरिक दैनिकका राजेन्द्र (नीलः) मानन्धर, महानगरखबर डट कमका अजय खड्गी र नयाँ पत्रिका दैनिकबाट शिवहरि घिमिरेलाई पनि सम्मान गरिएको छ ।

स्थानीयखबर डट कमबाट रन्जित तामाङ, थाहाखबर डट कमबाट सञ्चिता आचार्य, क्लिकमान्डु डट कमका सोभित थपलिया सोभित थपलिया, न्यूज एजेन्सीका अनिस अविरललाई सम्मान गरिँदा ईल्वहँ पब्लिकेशनलाई संस्थागत रुपमा सम्मान गरिएको थियो ।

राजेन्द्र स्थापित संयोजक, मोहन बास्तोला सदस्य र महेश काफ्ले सदस्य सचिव रहेको महानगर सुशासन पत्रकारिता पुरस्कार निर्णायक समितिबाट पुरस्कृत हुने पत्रकारहरुको नाम निर्णय गरिएको थियो ।

समारोहमा २२० जना परम्परागत बाजा गुरुहरुलाई जनही ३० हजार रुपैयाँको चेकसहित सम्मान गरिएको थियो । यसैगरी व्यवसाय, बहाल र सम्पत्ति करतर्फ नियमित र धेरै कर तिर्ने करदातालाई करदाता सम्मान गरिएको थियो ।

साथै स्थानीय सेवा पदक, महानगर गौरव पदक, साधना प्रधान अग्रणी महिला सम्मान, जनकमान श्रेष्ठ सुशासन पुरस्कार वितरण, महानगर सेवा पुरस्कार, महानगर सेवा गौरव पुरस्कारसहित सम्मान र पुरस्कार वितरण गरिएको थियो ।

यस्तै रानी पोखरी पुननिर्माण सहजीकरणका लागि गठित स्थानीय उपभोक्ता समितिका सदस्यहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, महानगरका प्रमुख विद्यासुन्दर शाक्यले संयुक्त रुपमा चित्रकार हरिप्रसाद शर्माले कोर्नु भएका काठमाडौँ उपत्यकाका संस्कृति, सम्पदा र परम्परा झल्किने चित्रहरुको संगालो सार्वजनिक गर्नुभएको थियो ।

त्यसै गरी महानगर प्रमुख शाक्यले प्रहरी बलले प्रयोग गर्ने वडी वन क्यामराको शुभारम्भ गर्नुभएको थियो ।

२०५२ साल मंसिर २९ गते तत्कालीन काठमाडौँ नगरपालिकालाई महानगरपालिका घोषणा गरिएको दिनको स्मरणमा वर्षेनी महानगर दिवस मनाउने गरिएको छ ।

यस वर्ष मंसीर २७ देखि २९ सम्म विभिन्न कार्यक्रमको आयोजना गरी तीन दिनसम्म महानगर दिवस मनाइएको हो ।

Categorized in स्थानीय