हिरासतमा विकको मृत्यु प्रकरणमा १० प्रहरी कारबाहीको सिफारिसमा
SamacharDesk – बिराज | २०८३ जेठ १२, मंगलबार
काठमाडौं, इलाका प्रहरी कार्यालय खुर्कोट सिन्धुलीको हिरासत कक्षमै थुनुवाको मृत्यु भएको घटनामा १० जना प्रहरी कर्मचारीहरूलाई कारबाहीको सिफारिस गरिएको छ ।
हिरासत कक्षमा रहेका सिन्धुली सुनकोशी गाउँपालिका–३ जुम्लीडाँडा बस्ने २३ वर्षीय श्रीकृष्ण विकको मृत्यु भएको घटनामा प्रहरी उपरीक्षकदेखि प्रहरी जवानसम्म गरी १० जना प्रहरी कर्मचारीलाई कारवाहिको सिफारीस गरिएको हो ।
घटनाको सम्वन्धमा छानबिन गर्न गठित प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्य नेतृत्वको छानबिन समितिले उनीहरूलाई कारबाहीको लागि सिफारिस गरेको हो ।
कारवाहिको लागि गरिएको सिफारीस अनुसार एक जनालाई सचेत गराउने, दुई जनालाई ध्यानाकर्षण गराउने, पाँच जनालाई सख्त चेतावनी सहित जिम्मेवारीबाट अलग गर्ने, एक जनालाई नसिहत र एक जनालाई ग्रेड घटुवा गर्ने समितिले सिफारिस गरेको छ ।
साथै समितिले हिरासत व्यवस्थापन कार्य निर्देशन, २०८१ को पूर्ण कार्यान्वयन र कार्य सुनिश्चितता गर्ने ड्यूटीका समयमा अन्य काममा संलग्न नहुने तथा नियमित निगरानी सुनिश्चित गर्न सुझाव दिएको छ ।
गत बैसाख ७ गते सोमबारको साँझ हिरासतको शौचालयमा विक झुन्डिएको अवस्थामा फेला परेका थिए । उनलाई सिन्धुली अस्पताल पुर्याइएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
सोही बेलादेखि विकको मृत्यु शंकास्पद रहेको भन्दै छानविन र दोषीलाई कारवाहीको माग उठेको थियो । दोषीलाई कारवाहीको माग गर्दै दलित अधिकारकर्मीलगायतले काठमाडौंको माइतीघरमा पनि प्रदर्शन गरेका थिए ।
Categorized in राष्ट्रिय




