पुल्चोकबाट पक्राउ परेकामध्ये १० जना रिहा, बाँकिलाई भोलि रिहा गरिने
SamacharDesk – बिकाश | २०७७ भाद्र २२, सोमबार

गत विहिबार ललितपुरको पुल्चोकमा मच्छिन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपमा पक्राउ परेकामध्ये आज सात जनालाई रिहा गरिएको छ ।
आज साँझसम्ममा ललितपुरका महेश वज्राचार्य, पृथविन्दु महर्जन, सुविन शाक्य, रवि शाक्य, धुव्रराज वज्राचार्य र थिमिका श्याम कुमार था श्रेष्ठ र निराज वादेलाई रिहा गरिएको हो ।
रिहा गरिएकामध्ये दुई जनामा कोरोना भएकोले उनीहरुलाई भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पठाइएको छ ।
हिजो ३ जनालाई रिहा गरिएको थियो । आज थप ७ जनासँगै १० जना रिहा भएका छन् ।
भोलिसम्ममा थुनामा रहेका बाँकि सबैलाई रिहा गरिने बताइएको छ ।
यसभन्दा अघि आजै ललितपुरका १९ वटा जातीय खलःपुचःका प्रतिनिधिको साथमा विभिन्न संघसंस्थाका प्रतिनिधि साथै अभियन्ताहरु रथजात्राको क्रममा पक्राउ परेका सबैको रिहाईको माग गर्दै जिल्ला प्रशासन कार्यालय ललितपुर पुगेका थिए ।
सो क्रममा ललितपुरका १९ जातीय खलःपुचः, नेपालभाषा मंकाः खलः यल, वौद्ध विहार संघका प्रतिनिधिको साथै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, स्थानीय जनप्रतिनिधि र सांसदहरु समेत जिप्रका ललितपुर पुगेका थिए ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भोलिसम्ममा पक्राउ परेका सबैलाई रिहा गरिने आश्वासन दिएको ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले बताउनुभयो ।
Categorized in समाज