न्युयोर्कमा दसौं इहि कार्यक्रम सम्पन्न
SamacharDesk – विजयरत्न | २०८३ आश्विन १२, सोमबार
अमेरिकाको न्युयोर्कको ज्याक्शन हाइटमा दशौं पटकको सामूहिक इही कार्यक्रम सम्पन्न भएको छ ।
नेवार परम्परा अनुसार बालिकाहरुलाई गरिने यो पवित्र संस्कार नेवाः नखः न्यूयोर्कले ज्याक्सन हाइट्सस्थित युनाइटेड शेर्पा एसोसिएसनको भवनमा आयोजना गरीएको थियो सम्पन्न भएको हो ।
समन्त श्री बज्राचार्यले नेवाः परम्परा र विधिअनुसार इही पूजा सम्पन्न गराएका थिए ।
कार्यक्रममा आयोजक संस्था नेवाः नखः न्यूयोर्कका अध्यक्ष श्रुति अमात्यले अमेरिकामा रहेर पनि नेवाः समुदायको महत्वपूर्ण संस्कारलाई संस्थागत रूपमा निरन्तरता दिन पाउनु गौरवको विषय भएको विचार राखे ।
अमेरिकामा जन्मे–हुर्केका नयाँ पुस्तालाई नेवाः भाषा, संस्कृति, संस्कार र परम्पराबारे सिकाउँदै यसको संरक्षण र पुस्तान्तरण गर्नुपर्नेमा अमात्यले जोड दिए ।
संस्थाका प्रथम उपाध्यक्ष तुलसी नारायण चित्रकारले इहि संस्कार र यसको महत्वबारे प्रकाश पारेका थिए ।
त्यस्तै नेवाः नखः न्यूयोर्कका निवर्तमान अध्यक्ष तथा सल्लाहकार डा. नरेशमान शाक्यले नेवाः नखः न्यूयोर्कको स्थापना, उद्देश्य र संस्थाले गर्दै आएका कार्यक्रम, गतिविधिबारे जानकारी दिए ।
कार्यक्रममा संस्थाका महासचिव सलोनी वन्त श्रेष्ठ, द्वितीय उपाध्यक्ष राधिका कुमारी श्रेष्ठ लगायतले पनि आआफ्ना भनाई राखेका थिए ।
इहिमा सहभागी बालिकाहरुलाई अध्यक्ष अमात्य र प्रथम उपाध्यक्ष सहभागीताको प्रमाणपत्र वितरण गरेका थिए ।
नेवाः नखः न्यूयोर्क न्यूयोर्कमा बस्दै आएका नेवाःहरुलाई संगठित गर्दै सन् २०११ मा न्यूयोर्कमा स्थापना भएको नेवाः संस्था हो ।
संस्थाले स्थापनाकालदेखि नै नेवाः समुदायको भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्ध्दनका साथै समुदायको हितका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
Categorized in संस्कृति




