arin enterprises

बर्दियामा मोटरसाइकल र बस ठोक्किँदा दुई जनाको मृत्यु

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८३ कार्तिक २९, शनिबार

बर्दियामा मोटरसाइकलसंग ठोक्किएर यात्रुवाहक मिनि बस पल्टिँदा २ जनाको मृत्यु भएको छ । गुलरिया नगरपालिका–११ लालपुरस्थित हुलाकी सडकखण्डमा भएको उक्त दुर्घटनामा १५ जना घाइते भएका छन् ।

आज (शनिवार) अन्दाजी दिउँसोको १ः४० बजे गुलरियाबाट नेपालगञ्जतर्फ आउँदै गरेको मिनि फोर्स बस र मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

गुलरियाबाट नेपालगञ्जतर्फ आउँदै गरेको बा.५ ख ५६०५ नम्बरको मिनि फोर्स बस, विपरीत दिशाबाट जाँदै गरेको CHO1CM9437 नम्बरको भारतीय मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक भारतको चण्डीगढ घर भएका ३४ वर्षीय हुकुम बहादुर खत्री र मोटरसाइकल पछाडि सवार हाल नामथर, वतन नखुलेका अन्दाजी ५५/६० वर्षीय पुरुषको मृत्यु भएको हो ।

दुर्घटना पछि दुवैलाई बर्दिया जिल्ला अस्पताल, गुलरिया लगिएकोमो सोही अस्पतालमा उपचारका क्रममा दुवैको मृत्यु भएको हो ।

चिकित्सकले पहिचान नखुलेका पुरुषलाई दिउँसो २ः०९ बजे र खत्रीलाई दिउँसो २ः१३ बजे मृत घोषणा गरेका थिए ।

घटनामा बर्दिया जिल्ला गुलरिया नगरपालिका–८ का मिनि फोर्स चालक ४० वर्षीय हरि चौधरीको दाहिने हातमा चोट लागेको प्रहरीले बताएको छ ।

उनको अवस्था मध्यम रहेको र सञ्जिवनी कलेज अफ मेडिकल साइन्सेस प्रा.लि., नेपालगञ्ज, बाँकेमा उपचार भइरहेको जानकारी प्रहरीले दिएको छ ।

दुर्घटनामा घाइेत भएका मधुवन नगरपालिका–९ धर्मबस्तीकी २६ वर्षीया ललिता चौधरी, मधुवन नगरपालिका–५का १८ वर्षीय सुरज बहादुर राजी, सोही स्थानका १७ वर्षीय संगम वलीलाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ ।

बर्दिया जिल्ला, मधुवन नगरपालिका–६ सानोश्री बस्ने ४४ वर्षीया रेखा कार्की, मधुवन नगरपालिका–९ बाह्रनम्बरका २८ वर्षीया सृजना मगर, मधुवन नगरपालिका–७ सुक्रबस्तीका ३३ वर्षीया ऋतु चौधरी सामान्य घाइते भएका छन् ।

बर्दिया जिल्लाकै बारबर्दिया नगरपालिका–२ जोगीगाउँका ७७ वर्षीय प्रसाद थारु, गुलरिया नगरपालिका–१ खैरापुर बस्ने १८ वर्षीय यमलाल थारु र कोहलपुर नगरपालिका–३ किरणनालाकी ३४ वर्षीया ईश्वरी न्यौपाने पनि सामान्य घाइते भएको बताइएको छ ।

गुलरिया नगरपालिका–१० कालाबञ्जराकी १९ वर्षीया अर्धना पाठक, सोही स्थानकी १५ वर्षीया अनन्य पाठक, बाँके, कोहलपुर नगरपालिका–११ एनटीभी रोडकी २३ वर्षीया अञ्जली घिमिरे, दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका–१२ टरीगाउँकी २७ वर्षीया लक्ष्मी बि.क. र सोही स्थानका ४ वर्षीय अन्मोल बि.क. उपचार पछि डिस्चार्ज भएका छन् ।

Categorized in समाज
SKIP THIS Tihar 2083