arin enterprises

बाहौं अन्तर्राष्ट्रिय एकल महिला दिवसको अवसरमा शुभकामना आदानप्रदान

SamacharDesk – राम डंगोल | २०७९ आषाढ १०, शुक्रबार

बाहौं अन्तर्राष्ट्रिय एकल महिला दिवसको अवसरमा आज ललितपुरको सुनाकुथिमा शुभकामना कार्यक्रम आयोजना गरियो ।

ललितपुर महानगर पालिका वडा नं २७ मा क्रियाशील रहेको मानवाधिकारका लागि एकल महिला समूहले आयोजना गरेको उक्त कार्यक्रममा बाग्मती प्रदेशका सांसदद्वय दिनेश महर्जन, राजकाजि महर्जन, ललितपुर महानगर पालिकाका उपमेयर मञ्जली शाक्य आस्था, वडा नं २७ का वडा अध्यक्ष कृष्णहरि महर्जन, वडा नं २६ का अध्यक्ष सुरेश महर्जन, वडा नं २७ का निर्वाचित सदस्यहरु, सुनाकुथिका एकल महिलाहरुको सहभागिता रहेको थियो ।

सोही अवसरमा उक्त स्थानीय एकल महिला समूहले हालै निर्वाचित स्थानीय जनप्रतिनिधिहरुलाई सम्मान तथा शुभकामना पनि गरिएको थियो । उक्त अवसरमा प्रदेश सांसद दिनेश महर्जनले सामाजिक विकृतिहरुलाई पन्छाउँदै एकल महिलाहरु आत्मनिर्भर हुनसक्नुपर्छ भन्नुभयो ।

संगठित भएपछि कमजोर भइन्दैन र पुरातन सोचभन्दा बाहिर आउनसकिन्छ भने राजनीतिमा महिला अग्राधिकारका लागि संघर्ष अझैपनि भैरहेको छ, उहाँले विश्लेषण गर्दै भन्नुभयो ।

बाग्मती प्रदेशका अर्का सांसद राजकाजि महर्जनले उक्त अवसरमा रोजगारीमूलक कार्यक्रमहरु अघि बढाइएको जानकारी गराउनु भयो । रोजगारीका लागि सीप विकास कार्यक्रमहरु सञ्चालन गरिएको र आर्थिक सहयोग समेत गरिएको छ भन्दै उहाँले एकल महिलाहरुलाई पनि सहयोग हुने वातावरण बनेको उल्लेख गर्नुभयो ।

यसैगरी ललितपुर महानगर पालिकाका उपमेयर मञ्जली शाक्य आस्थाले एकल महिलाहरु आफैपनि सक्षम हुन इच्छाशक्ति निर्माण गर्नुपर्छ ।

भिन्न नरही सबै समूह र समुदायका साथ सहकार्य गर्न सल्लाह दिँदै सीप विकास, सीप हस्तान्तरण गर्दै समाज विकास र उत्थानका लागि योगदान दिन एकल महिलाहरु सक्षम छन् ।

एकल महिलाहरुको रचनात्मक विकासका लागि ललितपुर महानगर पालिकाकोसाथ र सहयोग रहने आश्वासन पनि दिनुभयो । उक्त कार्यक्रममा वडा नं २७ का अध्यक्ष कृष्ण हरि महर्जनले पनि एकल महिला समूहलाई वडाको तर्फबाट सक्दो सहयोग हुनेछ भन्नुभयो ।

मानवाधिकारका लागि महिला संस्थाका केन्द्रिय कार्यकारी सदस्य तथा सुनाकुथि एकल महिला समूहका अध्यक्ष सविता महर्जनले एकल महिलाहरु एकतावद्ध भै सामाजिक विभेद विरुद्ध सामाजिक आन्दोलन गर्दै सक्षम हुन सकेको उल्लेख गर्नु भयो ।

संघीय, प्रदेश, पालिका र स्थानीय तहले एकल महिलाहरुका समस्याहरु सुन्नुपर्छ, बुझ्नुपर्छ र सहयोग गर्नुपर्छ भन्नुभयो । हालसम्म प्राप्त सहयोगका लागि धन्यबाद पनि दिनुभयो ।

मनावाधिकारका लागि महिला (Women for Human Rights)  नेपालमा एकल महिलाहरुको हक, हित, उत्थान र कल्याणका लागि क्रियाशील संस्था हो । करीब एक लाख एकल महिला सदस्य रहेको यस संस्थाको शाखाहरु नेपालका सबै जिल्लामा रहेका छन् ।

यस संस्था अन्तर्गत ललितपुरको सुनाकुथिमा २०६८ देखि एकल महिला समूह संगठित रहेको छ ।

Categorized in स्थानीय