arin enterprises

महानगरको निःशुल्क एम्बुलेन्सबाट एक हजार ३०१ जनाले सेवा लिए

SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ बैशाख २६, आइतबार

बैशाख १६ गते उपत्यकामा निषेधाज्ञा जारी भए यता महानगरको निःशुल्क एम्बुलेन्स सेवाबाट १ हजार ३०१ जना विरामीले सेवा लिएका छन् ।

नेपाल एम्बुलेन्स सेवाबाट ९८८ जनाले र संयुक्त एम्बुलेन्स चालक संघबाट सञ्चालित १० वटा एम्बुलेन्सबाट ३१३ जनाले सेवा लिएका हुन् ।

यो संख्या नेपाल एम्बुलेन्स सेवाको बैशाख २५ गतेसम्मको र संयुक्त एम्बुलेन्स चालक संघको बैशाख २३ गतेसम्मको हो ।

काठमाडौँ महानगरले बन्दाबन्दीका समयमा कोभिडको संक्रमण भएका र नभएका विरामीलाई अस्पताल ल्याउन लैजान छुट्टाछुट्टै एम्बुलेन्स सेवाको व्यवस्था गरेको छ ।

महानगरको सहयोगमा संचालित नेपाल एम्बुलेन्स सेवाले कोभिडको संक्रमण भएका वा शंका भएका विरामी बोक्ने गरेको छ । त्यस्तै महानगरसँग १५ दिनको लागि सम्झौता भई संघबाट सञ्चालित १० वटा एम्बुलेन्सले कोभिड नभएका विरामीलाई निःशुल्क सेवा दिन्छन् ।

यस अवधिमा महानगरको हटलाइन ११८० मा ५९१ जनाले फोन गरेर सेवा माग गरेका थिए ।

यीमध्ये ४९ जनाको सेवा नेपाल एम्बुलेन्स सेवासँग सम्बन्धित थियो । अन्यमा संयुक्त एम्बुलेन्स सेवाबाट विरामी अस्पताल लैजाने ल्याउने, पीसीआर परीक्षण, विरामीलाई अस्पतालमा वेड मिलाइ दिने, औषधिका बारेमा लगायतका प्रश्न तथा जिज्ञासाहरु थिए ।

नन कोभिड विरामीले एम्बुलेन्सबाट सेवा लिन महानगरको हटलाइन ११८० वा सिधै एम्बुलेन्सका चालकलाई सम्पर्क गर्न महानगरले भनेको छ । त्यस्तै कोभिड जाँच गर्दा पोजेटिभ रिपोर्ट आएका र शंकास्पद आपतकालीन विरामीलाई अस्पताल लानुपरे १०२ मा सम्पर्क गर्न सकिने व्यवस्था महानगरले गरेको छ ।

Categorized in स्थानीय