arin enterprises

ताम्रकार समाजको पन्ध्रौं बेलविवाह सम्पन्न

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०७९ फाल्गुण २, मंगलबार

ताम्रकार समाजले पन्ध्रौं पटक सामूहिक इहि अर्थात बेलविवाह कार्यक्रम सम्पन्न भएको छ ।

समाजको सामाजिक व्यवहार व्यवस्था उपसमितिबाट ताम्रकार समाज भवन, जावलाखेलमा आयोजित बेलविवाह कार्यक्रममा २१ जवान कन्याहरुको सहभागीता रहेको थियो ।

उपसमिति संयोजक एवं समाजका उप कोषाध्यक्ष मनोज ताम्रकारले समाजले वर्षेनी सामूहिक बेलविवाह कार्यक्रमको आयोजना गर्दै आएको बेलविवाह कार्यक्रम विगतका दुई बर्ष कोरोनाका कारण आयोजना गर्न नपाएको बताउँदै यस वर्षबाट फेरी निरन्तरता दिएको जानकारी दिए ।

विधि व्यवहारको नाममा अनावश्यक खर्च गर्ने प्रवृत्तिलाई यस्ता सामुहिक कार्यले निरुत्साहन गर्न सहयोग पुगेको सह कोषाध्यक्ष ताम्रकारले तर्क गरे ।

नेवार समाजमा कुमारी कन्याहरुलाई बेलसँग विवाह गरिदिने इहि संस्कारलाई अनिवार्य विधिको रुपमा लिइन्छ । सुवर्ण कुमार विवाह समेत भनिने इहि कर्म गरिएका बालिकाहरु कहिल्यै विधुवा नहुने मान्यता रहेको छ ।

नेपाली परम्परा, संस्कार, विधि व्यवहारको सम्वर्ध्दन र संरक्षणमा समाज सदैव लागी परेको समाजका अध्यक्ष बिनोद ताम्रकारले बताए ।

Categorized in संस्कृति