arin enterprises

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु

SamacharDesk | २०८० मङ्सिर ९, शनिबार

आजबाट नेपाल लगायत विश्वभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएको छ ।

लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता नारासहित यो दिवस मनाईदैछ ।

आउँदो २४ गतेसम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन हुने छ । संयुक्त राष्ट्र सङ्घको महासभाले हरेक वर्ष नोभेम्बर २५लाई महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका रूपमा विश्वभर मनाउने निर्णय गरेबमोजिम आजदेखि डिसेम्बर १० सम्म विश्वभर यो दिवस मनाईदै छ ।

नेपालमा एक वर्षमा लैङ्गिक हिंसाका २० हजारभन्दा बढी घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार समग्र लैङ्गिक हिंसामा घरेलु हिंसाका घटना ८० प्रतिशत रहेका छन् ।

एक वर्षको अवधिमा घरेलु हिंसाका १६ हजार ५ सय १९, जबरजस्ती करणीका दुई हजार ३ सय ८७, जबरजस्ती करणी उद्योगका ५ सय १८, अपहरण तथा जबरजस्ती करणीका ५९, जबरजस्ती करणी गरी कर्तव्य ज्यानका पाँच, मानव बेचबिखन तथा जबरजस्ती करणीका १० वटा घटना भएका प्रहरीले जनाएको छ ।

एक वर्षमा भएका तीन हजार ४ सय ३ यौनजन्य हिंसाका पीडितमध्ये ६३ प्रतिशत अर्थात दुई हजार १ सय ७२ बालिका छन् ।

लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियानका अवसरमा सन्देश दिँदै राष्ट्रपति रामचन्द्र पौडेलले समाजमा विद्यमान विकृति र विसङ्गतिका विरुद्ध परिवार, समुदाय र राष्ट्रियस्तरमा व्यापक रूपमा सचेतना अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबको आवश्यकता महिला अधिकारलाई सुनिश्चित गर्न संविधानमा उल्लेख गरिएका मौलिक हकको व्यावहारिक कार्यान्वयन गर्नुरहेको बताउनुभएको छ ।

Categorized in राष्ट्रिय