arin enterprises

१७ वर्षको जवान भयो, आईफोन

SamacharDesk – आकाश | २०८० पौष २४, मंगलबार

आज जनवरी ९, आजको दिनबाट विश्व प्रशिद्ध आइफोन १७ वर्षको जवान भएछ । १७ वर्ष अघि आजकै दिन एप्पलले पहिलो आईफोन सार्वजनिक गरेको थियो ।

सन् २००७ जनवरी ९ को दिन अमेरिकामा पहिलो आइफोन सार्वजनिक गरिएको थियो ।

अमेरीकाको क्यालिफोर्नियास्थित सान फ्रान्सिस्कोमा आयोजित म्याकवर्ल्ड एक्स्पोमा एप्पलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्टिभ जब्सले पहिलो आइफोन सार्वजनिक गरेका थिए ।

त्यसबेलाको कुरा गर्नुपर्दा स्मार्टफोनको बजारमा ब्ल्याकबेरीको वर्चस्व नै बनेको थियो । सरकारी अधिकारी, धनाढ्य, व्यापारी, ठूला कम्पनी यी सबैले त्यसबेला ब्ल्याकबेरीकै स्मार्टफोन प्रयोग गर्थे । ब्ल्याकबेरीको फोन बोक्नेको सान नै बेग्लै हुन्थ्यो ।

ब्ल्याकबेरीलाई प्रतिस्पर्धा गर्ने अरु कुनै कम्पनी वा फोन जन्मिएला भन्ने मानिसहरुले कल्पनासम्म पनि गरेका थिएनन् ।

जब आईफोन आयो, तब स्मार्टफोनको परिभाषा नै फेरियो ।

कम्पनीले आईफोन सार्वजनिक भएको ६ महिनापछि अर्थात् २९ जुनबाट बजारमा बिक्री सुरु गरेको थियो । तब स्मार्टफोनको बजारमा आइफोनले नयाँ उत्साह र रेकर्डसमेत कायम गरेको थियो ।

कस्तो थियो त पहिलो आईफोन ?

३.५ इन्च डिस्प्ले भएको एप्पलको पहिलो आईफोनमा साम्सुङको एआरएम प्रोसेसर थियो । २ मेगापिक्सेलको क्यामेरा भएको उक्त फोनमा फ्रन्ट क्यामेरा भने थिएन ।

यसमा एम्बियन्ट लाइट सेन्सर, मल्टिटच फिचर, एक्सेलेरोमिटर र प्रोक्सिमिटी सेन्सर समावेश थियो । १२८ एमबी र्‍याम भएको सो डिभाइस ४ र ८ जीबी इन्टर्नल स्टोरेज भेरिएन्टमा उपलब्ध थियो ।

त्यस्तै यसमा १४ सय एमएएच क्षमताको ब्याट्री राखिएको थियो । त्यो बेला ४ जीबी वाला आइफोनको मूल्य ४९९ र ८ जीबीको ५९९ अमेरिकी डलर तोकिएको थियो ।

डेढ दशकभन्दा लामो यात्रामा आजको दिनसम्म एप्पलले आइफोनको १५ औं मोडल सार्वजनिक गरिसकेको छ ।

एप्पल कम्पनीका सहसंस्थापक जब्सलाई आइफोनको पिता मानिन्छ ।

जब्सले स्टिभ वोज्निआक र रोनाल्ड वायनसँग मिलेर १९७६ को अप्रिल १ मा एप्पल कम्पनी स्थापना गरेका थिए । सोही वर्ष कम्पनीले ‘एप्पल माइक्रो कम्प्युटर–१’ बनाएको थियो ।

जब्स १९७० र ८० को दशकको ‘कम्प्युटर क्रान्ति’ का अगुवासमेत हुन् । उनको नेतृत्वमा एप्पलले विकास गरेको आइफोन र कम्प्युटर संसारमै चर्चित छ ।

सन् १९८४ मा सार्वजनिक भएको म्याकले कम्प्युटर उद्योगमा र २००१ मा सार्वजनिक भएको आईपडले संगीतको दुनियाँमा क्रान्तिकारी परिवर्तन ल्याएको जब्सले बेला बेलामा भन्ने गर्थे ।

२ मेगापिक्सलवाट सुरु भएको आइफोनको क्यामेरा अहिले ४८ मेगापिक्सलसम्म पुगिसकेको छ । त्यस्तै इन्टरनल स्टोरेज १ टिबीसम्म पुर्‍याइसकेको छ ।

समय अनुसार नयाँ नयाँ अपडेटसहित आउने हुनाले आजको दिनमा प्राय सबैको सपना आइफोन किन्ने नै हुने गरेको छ ।

एप्पललाई प्रविधि कम्पनीका रूपमा सबैभन्दा सफल र शक्तिशाली बनाउने श्रेय पनि जब्सलाई नै जान्छ ।

सन् २०११ अगस्ट २४ मा एप्पलको सीईओबाट राजीनामा दिएका जब्सको सन् २०११ कै अक्टोबर ५ मा निधन भएको थियो ।

Categorized in विज्ञान-प्रविधी