arin enterprises

संक्रमण नियन्त्रणमा सरकारले प्रभावकारी काम गरेको उपप्रधानमन्त्री पोखरेलको दावी

SamacharDesk – बिकाश | २०७७ पौष १५, बुधबार

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले प्रभावकारी कामहरु गरेको दावी गर्नुभएको छ ।

नेपालमा कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि लकडाउन, निषेधाज्ञा लगायतका आवश्यक कदमहरु समयमै चालेको उपप्रधानमन्त्री पोखरेलले बताउनुभयो । आवश्यकताको आधारमा परिक्षण भइरहेको दावी गर्दै सरकार ढाल्नकै लागि काम गर्न नदिने प्रवृत्तीका कारण समस्या देखिएको उहाँले बताउनुभयो ।

१७औं ज्यापु दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा पोखरेलले ज्यापु संस्कृतिको विकासका लागि कोषमा थप गरी १ करोड पुर्‍याउने वचन दिनुभयो । ज्यापु दिवसको आयोजना गर्दै आएको ज्यापु संस्कृति विकास कोषमा रहेको ६० लाखलाई बढाएर एक करोड पुर्‍याउने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले ज्यापु संस्कृति विकास कोषका संस्थापक चक्रमान डंगोललाई सम्झे । प्रधानमन्त्री केपी शर्मा ओलीकै शब्द दोहोर्‍याउँदै मन्त्री श्रेष्ठले भाइरस एक बोसो भएको र साबुन पानीले मिचिमिच हात धोएर हात सफा गर्न, बेसार पानी खान सुझाव दिनुभयो ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले गुठी विधेयकका सवालमा प्रधानमन्त्रीबाट पटक पटक सुझावको माग भइसकेको तर ठोस सुझाव आउन नसकेको बताउनुभयो ।

‘गुठी विधेयकमा के चाहिने हो ? गुठी संस्थानको खारेज नै गर्ने हो भने त्यसको विकल्प के हुन सक्ला ? ठोस सुझाव बनाउँ । हामीहरुको गुठीको संरक्षण हुने, अझ सबल बन्ने योजनामा लागौं’ शाक्यले भन्नुभयो ।

काठमाडौं महानगरका मूर्त अमूर्त सम्पदाको संरक्षणमा महानगरले कुनै कसर बाँकि नराख्ने भन्दै शाक्यले सम्पदाको पुनर्निर्माण, जिर्णोद्धार गर्नुपर्ने भए महानगरलाई खबर गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा ज्यापु संस्कृतिको विकासमा आ–आफ्नो क्षेत्रबाट योगदान दिने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

परम्परागत ओलाछी टोलका टोल नाइके मदनवीर महर्जनलाई ज्यापु साँस्कृतिक धरोहर सम्मानबाट र शिक्षा क्षेत्रमा दिइने ज्यापु सरस्वती पदकबाट मनमैजु माविकी प्रधानाध्यापक रबिना महर्जनलाई सम्मान गरिएको थियो ।

त्यस्तै ज्यापु रत्नबाट व्यवसायी साथै संचार उद्यमी रमेश महर्जनलाई र साँस्कृतिक गुरु काजीलाल डंगोललाई पनि कार्यक्रममा सम्मान गरिएको थियो ।

कोरोना संक्रमणको जोखिमका अवस्थामा सिमित संख्याको उपस्थितीमा कार्यक्रम सम्पन्न गरिएको थियो । ज्यापु संस्कृति विकास कोषले २०६१ सालदेखि मंसीर पुर्णिमा यःमरि पुन्हिको अवसर पारेर ज्यापु दिवस मनाउँदै आएको छ ।

Categorized in समाज