arin enterprises

आजै दुई जना कोरोना संक्रमितको मृत्यु पुष्टि

SamacharDesk – विकाश | २०७७ आषाढ २०, शनिबार

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजको नियमित प्रेस व्रिफिङमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरेको हो ।

मन्त्रालयको आजको प्रेस व्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले गोरखाका एक पुरुष र रुपन्देहीका एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको जानकारी दिनुभयो ।

गोरखा पालुङटार ७ का ४४ वर्षीय संक्रमित पुरुषको आज विहान उपचारको क्रममा मृत्यु भएको हो ।

मधुमेहका रोगी उक्त पुरुषलाई निमोनियाको समस्या देखिएपछि हिजो गोरखा अस्पताल भर्ना भएका थिए ।

अस्पतालको आइसोलेसनमा उपचारकै क्रममा उनको मृत्यु आज विहान ५ बजे मृत्यु भएको हो ।

१७ गते कतारबाट नेपाल फर्केका उनी सोही दिन गोरखाको पालुङटार क्वारेन्टिनमा बसेका थिए ।

उनको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ ।

त्यसैगरी गत १७ गते मृत्यु हुने रुपन्देहीका पुरुषमा पनि कोरोना संक्रमण पोजेटिभ देखिएको छ । 

रुपन्देही देवदहका ७५ वर्षीय पुरुषमा क्षयरोगको समस्या देखिएपछि उपचारका लागि गत १४ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । 

उपचारकै क्रममा उक्त पुरुषको गत १७ गते शिक्षण अस्पतालमै मृत्यु भएको थियो ।

उनको कोरोना परिक्षणको रीपोर्ट गत १८ गते आएको र रिपोर्टमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

Categorized in समाज