स्वयम्भू ज्ञानमाला भजनलाई कामपाबाट २० लाख सहयोग
SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ श्रावण ९, शनिबार

काठमाडौँ महानगरपालिकाले ज्ञानमाला भजन खल स्वयम्भूको अक्षय कोषलाई २० लाख रुपैयाँ प्रदान गरेको छ ।
आज (शनिबार) विहान भजन खलःमा पुगेका महानगर प्रमुख विद्यासुन्दर शाक्यले उक्त रकमको चेक खलका अध्यक्ष तीर्थनारायण महर्जनसहित पदाधिकारीहरुलाई हस्तान्तरण गर्नुभयो ।
सो अवसरमा महानगर प्रमुख शाक्यले अहिलेसम्म सम्पदाको मर्मत, सम्भार वा जीर्णोद्धार र अमूर्त सम्पदाहरुको संरक्षणको प्रयासका लागि महानगरमा आएका कसैलाई पनि रित्तो हात नफर्काइएको दावी गर्नुभयो ।
उहाँले बुद्धवाणीलाई भजनमार्फत जनमानसमा जीवित गराइराख्न ज्ञानमालाको भजनको महत्व बारे चर्चा गर्नुभयो ।
महानगरका प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले स्वयम्भू क्षेत्रको व्यवस्थापनमा महानगर र वडाबाट कुनै पनि कमी हुन नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
खलःका अध्यक्ष तीर्थ नारायण महर्जन, उपाध्यक्ष पूर्णकाजी ज्यापुले खलःका गतिविधिहरुबारे जानकारी दिँदै यहाँ १९९४ सालदेखि नियमित भजन हुँदै आएको र बन्दाबन्दीमा पनि यहाँको चलनलाई कुनै न कुनै रुपमा निरन्तरता दिइएको जानकारी गराउनुभयो ।
त्यस अवसरमा प्रमुख शाक्यले खलःको घरमा बुद्धको मूर्ति अनावरणसमेत गर्नुभएको भयो । उक्त मूर्ति रामघाटका देवकाजी महर्जनले भजन घरलाई दिएको हो । मूर्ति लागत २ लाख ३४ हजार लागतमा तयार भएको बताइएको छ ।
Categorized in समाज